Butwal Today

सल्यानमा २३० अपराधका मुद्दा, ७८ नाल बन्दुक बरामद, ८५ वटा सवारीसाधन नियन्त्रण

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

सल्यान । घ वर्ग अन्तर्गत पर्ने देशका २५ जिल्ला मध्ये असारमा देशभरमै उत्कृष्ट बन्न सफल जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध नियन्त्रण देखि समुदाय सचेतनामा उल्लेखनीय कार्य गरेको छ ।

एक वर्षको अवधिमा सल्यान प्रहरीले १७८ जना अभियुक्त र ११७ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा २३० वटा अपराधका मुद्दा दर्ता भएका छन् भने यस अवधिमा ७८ थान अवैध हतियार बरामद भएको छ । र प्रहरी कारबाहीका क्रममा ८५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले अपराध अनुसन्धान, नियन्त्रण, फैसला कार्यान्वयन, प्राकृतिक स्रोत संरक्षण, राजस्व चुहावट नियन्त्रण तथा सामुदायिक सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरेको भन्दै आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले वर्षभर २३० वटा अपराधका मुद्दा दर्ता भएकामा चालु र पेन्डिङ दुवै प्रकृतिका गरी २८७ मुद्दा फर्छ्योट गरिएको बताए । यस अवधिमा १७८ जना अभियुक्त पक्राउ परेका छन् भने विभिन्न अदालतबाट फरार रहेका ११७ जना प्रतिवादीलाई समेत पक्राउ गरी फैसला कार्यान्वयन गरिएको छ ।

२३० मुद्दामध्ये ५८ वटा जघन्य तथा गम्भीर प्रकृतिका

प्रहरीमा दर्ता भएका २३० मुद्दामध्ये ५८ वटा जघन्य तथा गम्भीर प्रकृतिका छन् । यस अन्तर्गत ३ वटा कर्तव्य ज्यान, १५ वटा ज्यान मार्ने उद्योग, १७ वटा जबरजस्ती करणी, ७ वटा जबरजस्ती करणी उद्योग, १० वटा सवारी ज्यान, २ वटा हातहतियार तथा खरखजाना र ४ वटा विद्युतीय कसुरका मुद्दा दर्ता भएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध तर्फ ७ वटा बहुविवाहका मुद्दा दर्ता भएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । आर्थिक अपराध तर्फ ३९ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये ३४ वटा बैङ्किङ कसुर, ४ वटा ठगी र १ वटा जुवासम्बन्धी मुद्दा रहेका छन् ।

सामाजिक अपराध अन्तर्गत २८ वटा मुद्दा दर्ता भएका छन् । यसमा १८ वटा अभद्र व्यवहार, ७ वटा लागू औषध, २ वटा चोरी तथा एउटा आपराधिक उपद्रवसम्बन्धी मुद्दा रहेको छ भने अन्य शीर्षकका ९८ वटा मुद्दा समेत दर्ता भएका छन् ।

प्रहरीले चालु र पेन्डिङ दुवै प्रकृतिका गरी कुल २८७ मुद्दा फर्छ्योट गरेको जनाएको छ । फर्छ्योट भएका चालु मुद्दामध्ये ४ वटा जघन्य, ४८ वटा गम्भीर र ७० वटा सामान्य प्रकृतिका छन् । त्यसैगरी पेन्डिङ मुद्दामध्ये १५ वटा जघन्य, १ वटा गम्भीर र १४९ वटा सामान्य मुद्दा फर्छ्योट गरिएको छ ।

यस अवधिमा चालु तथा पेन्डिङ मुद्दामा गरी १७८ जना अभियुक्त पक्राउ परेका छन् । चालु मुद्दा अन्तर्गत ६ जना जघन्य, ६२ जना गम्भीर र १०९ जना सामान्य प्रकृतिका मुद्दाका अभियुक्त पक्राउ परेका छन् भने पेन्डिङ मुद्दामा १ जना गम्भीर प्रकृतिको अभियुक्त पक्राउ परेको प्रहरीको तथ्याङ्क छ ।

ज्यान मार्ने उद्योगमै २३ जना पक्राउ

प्रहरीका अनुसार सल्यानमा वर्षभर विभिन्न प्रकृतिका मुद्दामा पक्राउ पर्नेमा २३ जना ज्यान मार्ने उद्योग, १५ जना सवारी ज्यान, १५ जना जबरजस्ती करणी, ६ जना जबरजस्ती करणी उद्योग, ४ जना कर्तव्य ज्यान मुद्दाका अभियुक्त छन् ।

यस्तै ३३ जना अभद्र व्यवहार, २२ जना लागू औषध, २६ जना बैङ्किङ कसुर, ४ जना विद्युतीय कसुर, ४ जना ठगी, ६ जना जुवा, ३ जना साधारण चोरी, ३ जना आपराधिक उपद्रव, २ जना हातहतियार तथा खरखजाना र १२ जना बहुविवाह मुद्दाका अभियुक्त रहेका छन् ।

आ.व. २०८२।०८३ को अन्तसम्म विभिन्न मुद्दाका ९ जना अभियुक्त फरार रहेका छन् । तीमध्ये ३ जना बैङ्किङ कसुर, ३ जना जबरजस्ती करणी, १ जना जबरजस्ती करणी उद्योग र २ जना सवारी ज्यान मुद्दाका प्रतिवादी रहेका छन् ।  अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत वर्षभर ११७ जना फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लागु औषध र आत्महत्याको समस्या उत्तिकै

लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ७ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर, १३६ ग्राम ९७० मिलिग्राम चरेस, ९५० ग्राम सुकेको गाँजा, ४० ग्राम हरियो गाँजा तथा ८ वटा लागूऔषधजन्य ट्याब्लेट बरामद गरेको जनाएको छ । यस क्रममा लागू औषध सहित २२ जनालाई पक्राउ गरिएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लामा ५१ जनाले आत्महत्या गरेका छन् ।  तीमध्ये ४८ जनाले झुन्डिएर तथा ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

वर्षभर हराएका ८३ जनालाई प्रहरीले खोजतलास गरी परिवारको सम्पर्कमा ल्याएको जनाएको छ । हराउनेमध्ये ४० महिला, २२ पुरुष, १६ बालिका, ४ बालक र १ जना ज्येष्ठ नागरिक रहेका थिए ।

८७ नाल बन्दुक बरामद, ८५ सवारीसाधन नियन्त्रण 

प्रहरीले विभिन्न कारबाहीका क्रममा ८५ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ । राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ६ वटा जिप नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके पठाएको जनाएको छ ।

यस्तै प्राकृतिक सम्पदा संरक्षणतर्फ प्रहरीले अवैध काठ, जडीबुटी तथा नदीजन्य पदार्थको उत्खनन नियन्त्रणमा उल्लेखनीय काम गरेको जनाएको छ । विभिन्न स्थानबाट ७ वटा सवारीसाधन नियन्त्रणमा लिई १९२९.४१ क्युफिट विभिन्न जातका काठ बरामद गरिएको छ । यसबाट ३ लाख ३५ हजार ७९२ रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसै गरी प्रहरीले २ वटा सवारीसाधन नियन्त्रणमा लिई गुर्जोगाना, गिठाको बोक्रा, तेजपत्ता गरी १३ बोरा, ४८ केजी रातो च्याउ तथा १ हजार ८७ केजी टिमुर बरामद गरेको छ । र यसबाट ४ लाख ५५ हजार ८०० रुपियाँ राजस्व सङ्कलन भएको छ ।

यस्तै अवैध रूपमा बालुवा, ढुंगा तथा गिट्टी उत्खनन र ओसारपसार गर्ने क्रममा ट्याक्टर, टिपर तथा एक्स्काभेटर सहित ७० वटा सवारीसाधन नियन्त्रणमा लिई सम्बन्धित स्थानीय तहमा कारबाहीका लागि पठाइएको छ । यसबाट ३ लाख १२ हजार ६९० रुपियाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

सल्यानबाट एक वर्षको अवधिमा ८७ थान हातहतियार बरामद भएको छ । प्रहरीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका ८५ नाल भरुवा बन्दुक तथा २ जना व्यक्तिसहित २ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

अपराध न्यूनीकरणका लागि लामो तथा छोटो दूरीका गस्ती नियमित रूपमा परिचालन गरिएको, बढी अपराध हुने स्थानमा निगरानी बढाइएको, सूचना सङ्कलनका लागि सादा पोसाकमा प्रहरी परिचालन गरिएको तथा समुदायमा देखिएका विशिष्ट समस्याको पहिचान गरी सचेतनामूलक तथा निरोधात्मक कार्यक्रम सञ्चालन गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

२५ हजार बढी नागरिकमाझ सचेतना

जिल्ला प्रहरी कार्यालय मार्फत समुदाय र विद्यालय केन्द्रित कार्यक्रम अन्तर्गत आर्थिक वर्षभर ६४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममा २५ हजार ७३४ जनाको सहभागिता रहेको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा बढी १०५ वटा आत्महत्या सम्बन्धी कार्यक्रममा ३ हजार ४१८ जना सहभागी भएका छन् । बालविवाह विरुद्ध १०२ कार्यक्रममा ३ हजार ८८२ जना सहभागी भएका छन् । लागू औषध विरुद्ध ३७ कार्यक्रममा ४ हजार ५९३ जना, जबरजस्ती करणी सम्बन्धी ३६ कार्यक्रममा १ हजार २४९ जना, साइबर अपराध सम्बन्धी ३१ कार्यक्रममा १ हजार ३३४ जना तथा ट्राफिक सडक सुरक्षा सम्बन्धी २८ कार्यक्रममा १ हजार १८२ जना सहभागी भएका छन् ।

यसै गरी बोक्सी आरोप सम्बन्धी २३ कार्यक्रममा ७५४ जना, मानव बेचबिखन सम्बन्धी २२ कार्यक्रममा १ हजार ३६ जना, घरेलु हिंसासम्बन्धी २२ कार्यक्रममा ८९१ जना, महिला हिंसासम्बन्धी २४ कार्यक्रममा ९३५ जना, अल्पसङ्ख्यक सम्बन्धी २४ कार्यक्रममा ९३५ जना, बहुविवाह सम्बन्धी १५ कार्यक्रममा ४७४ जना, वन डढेलो तथा आगलागी सम्बन्धी २५ कार्यक्रममा ६३५ जना, प्राकृतिक प्रकोप सम्बन्धी ७ कार्यक्रममा ३८० जना, जातीय छुवाछुत सम्बन्धी ५ कार्यक्रममा १८० जना, लैङ्गिक हिंसासम्बन्धी ७ कार्यक्रममा १८६ जना, गस्ती तथा बस्ती भेटघाट सम्बन्धी ८ कार्यक्रममा २७० जना, समिति गठनसम्बन्धी ७ कार्यक्रममा १४५ जना, सरसफाइ सम्बन्धी ६ कार्यक्रममा २६० जना, दाइजो प्रथाविरुद्ध २ कार्यक्रममा ६० जना तथा अन्य ४२ कार्यक्रममा २ हजार ५५ जना सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?