© 2026
जनकपुरधाम। मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (नेकपा) सम्मिलित तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने भएको छ।
नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका मुख्य सचेतक कुवरकान्त झाले पार्टी सभापति र सातै प्रदेशका मुख्यमन्त्रीबीच भएको छलफलमा मधेसमा हालकै गठबन्धन सरकारलाई निरन्तरता दिने सहमति भएको बताएका हुन्।
हाल मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसका कृष्णप्रसाद यादवले गरिरहेका छन्। उनलाई एमाले र नेकपाको समर्थन रहेको छ। मुख्य सचेतक झाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि तानाशाही उन्मुख भएको आरोप लगाउँदै सङ्घीयता, समानुपातिक र समावेशी अधिकारमा हस्तक्षेप भए ठूलो विद्रोह हुने चेतावनी दिए।
उनले प्रेसमाथि सेन्सरसिप लगाउने प्रयास भइरहेको आरोपसमेत लगाउँदै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने बताए। प्रदेश सरकारको समीकरणबारे केन्द्रमा दलहरूबीच छलफल जारी रहे पनि कांग्रेसले प्रदेशहरूलाई प्रतिपक्षविहीन बनाउने पक्षमा नरहेको जनाएको छ।