Butwal Today

लुम्बिनी अपडेट : पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, एकै दिन १४ सवारी दुर्घटना

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

बुटवल ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका–२ राक्सेस्थित कालीगण्डकी करिडोरमा बिहीबार बिहान सडकमाथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार पहिरोका कारण उक्त सडकखण्ड हुँदै सञ्चालन हुने सवारीसाधनको आवागमन पूर्ण रूपमा प्रभावित भएको हो ।

प्रहरीका अनुसार पहिरो हटाएर सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायको समन्वयमा डोजर तथा आवश्यक जनशक्ति परिचालन गरिएको छ । सडकमा थुप्रिएको माटो र ढुंगाका कारण सवारी आवागमन रोकिएको छ भने सडक खुलाउन निरन्तर प्रयास भइरहेको जनाइएको छ । सडक सञ्चालनमा नआएसम्म यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

वर्षायाम सुरु भएसँगै पहाडी राजमार्गमा पहिरो खस्ने जोखिम बढेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ । विशेष गरी कालीगण्डकी करिडोर, सिद्धार्थ राजमार्ग तथा अन्य पहाडी सडकमा मौसमको अवस्था हेरेर यात्रा गर्नुपर्ने प्रहरीले जनाएको छ ।

यसैबीच, कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा १४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

ट्राफिक नियम उल्लङ्घन गर्ने ३२७ वटा सवारीसाधनमाथि कारबाही गरिएको छ । कारबाहीबाट रु। ४ लाख ४० हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको वातावरण निर्माणका लागि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सोही अवधिमा ४४ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । चालक तथा सर्वसाधारणलाई लक्षित ती कार्यक्रमबाट २ हजार ५३५ जना लाभान्वित भएका छन् । कार्यक्रममा सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, सिटबेल्ट र हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे जानकारी दिइएको कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले वर्षायाममा प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुन सक्ने भएकाले यात्रा अघि सडकको अद्यावधिक अवस्था बुझ्न, ट्राफिक प्रहरीको निर्देशन पालना गर्न तथा आपत्कालीन अवस्थाबाहेक जोखिमयुक्त सडक प्रयोग नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?