Butwal Today

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ: मन्त्री यादव 

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन तर्जुमा गर्ने पहल सुरु गरिएको बताएकी छन् ।

मन्त्रालयमा खाद्य तथा कृषि सङ्गठन (एफएओ) का नेपाल प्रतिनिधि केन सिमिजुसँग भएको शिष्टाचार भेटमा स्थानीय उत्पादनको ब्रान्डिङ तथा दीर्घकालीन संरक्षणका विषयमा छलफल भएको थियो ।

मन्त्रालयका अनुसार भेटका क्रममा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्दै तिनको दिगो संरक्षण र प्रवर्द्धन गर्ने विषयमा विचार–विमर्श भएको थियो ।

सो अवसरमा मन्त्री यादवले स्थानीय उत्पादनको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक कानुनी व्यवस्था निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

एफएओका नेपाल प्रतिनिधि केन सिमिजुले विश्वका अधिकांश मुलुकमा भौगोलिक सङ्केत (जीआई) प्रणाली लागू भइसके पनि नेपालमा अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेकोप्रति ध्यानाकर्षण गराए ।

उनले स्थानीय उत्पादनको जीआई दर्ता नहुँदा बहुमूल्य नेपाली ब्रान्ड अन्य मुलुकले दर्ता गर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै त्यसलाई रोक्न तत्काल कानुन निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?