Butwal Today

धनगढीमा आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र सुशासनका मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि कैलालीको धनगढीमा आफ्नो २४औँ सत्याग्रह सुरु गर्ने भएका छन् । उनले दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा आमरण अनसन सुरु गर्ने कार्यक्रम तय गरेका छन् ।

डा. केसीले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेको तथा पटक–पटक उठाइएका मागप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । यसअघि सरकारले माग सम्बोधन गर्न साउन ५ गतेसम्मको समय मागे पनि कुनै ठोस पहल नगरेपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उनले बताएका छन् ।

निर्धारित समयसीमाभित्र सरकारले कुनै सकारात्मक कदम नचालेपछि आन्दोलनको विकल्प नरहेको निष्कर्षमा डा. केसी पुगेको उनका सहयोगी डा। अमृत जैसीले जानकारी दिए । डा. केसी गत शुक्रबार सुदूरपश्चिम पुगेका थिए। त्यसयता उनले कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाको भ्रमण गरेका छन् ।

बुधबार जारी विज्ञप्तिमार्फत डा. केसीले आफ्ना मागप्रति सरकार गम्भीर नबन्दा उत्पन्न हुन सक्ने परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएका छन् । नागरिकको स्वास्थ्य अधिकार, गुणस्तरीय चिकित्सा शिक्षा र सुशासनका पक्षमा आफूले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले पुनः सत्याग्रहको बाटो रोज्नुपरेको स्पष्ट पारेका छन् ।

यसपटकको सत्याग्रहमा उनले चिकित्सा शिक्षा क्षेत्रका नियुक्ति प्रक्रिया र नीतिगत निर्णयलाई प्रमुख मुद्दा बनाएका छन् । दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा कानुन र मापदण्डविपरीत गरिएको भनिएका नियुक्ति खारेज गर्नुपर्ने, सम्बन्धित ऐनका विवादित व्यवस्था संशोधन गर्नुपर्ने तथा नियुक्तिमा राजनीतिक प्रभाव र स्वार्थको द्वन्द्व अन्त्य गर्नुपर्ने उनको मुख्य माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?