© 2026
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।
कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिस्ट’बाट चाँडै बाहिर निस्कने उनको विश्वास छ ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिए ।
अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्ति विकास, उनीहरूको कार्यशैली तथा राज्यलाई पुर्याएको योगदानका आधारमा प्राथमिकता दिइने बताए । उनले कर सङ्कलनका लागि जबरजस्ती वा त्रसित बनाएर नभई स्वेच्छिक कर अनुपालनमार्फत करदातालाई करको दायरामा समेट्नुपर्नेमा जोड दिए ।
कर प्रशासनलाई चुस्त बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिजस्ता जुनसुकै कुराको अभाव भए निर्धक्क भएर जानकारी गराउन पनि उनले आग्रह गरे । कर प्रशासनमा इमानदारीपूर्वक काम गरी राज्यलाई लाभ पुर्याउने कर्मचारीलाई प्रोत्साहन गरिने उनले स्पष्ट पारे ।
यस वर्षको बजेटलाई अर्थतन्त्रको जहाज मोड्ने आधारका रूपमा बुझ्न आग्रह गर्दै उनले आगामी चार आर्थिक वर्षका बजेटमार्फत सरकारले निर्माण गर्न चाहेको अर्थतन्त्रको स्पष्ट आधार देखिने बताए ।
बजेटमा घोषणा गरिएका छुटका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न, करदाता प्रोत्साहन कार्यक्रम सफल बनाउन, करदाता सचेतना अभिवृद्धि गर्न तथा कारोबारलाई डिजिटल बनाउन सबै खाले पहल गर्न उनले विभागीय नेतृत्वलाई निर्देशन दिए ।