Butwal Today

कम्युनिस्ट–लोकतान्त्रिकबीचको सहकार्य नै राजनीतिक परिवर्तनको आधार हो : ओली

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबीचको सहकार्य नै नेपालको राजनीतिक परिवर्तनको मुख्य आधार भएको बताएका छन् ।

नेपालका वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद ९बीपी० कोइरालाको स्मृति दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा अध्यक्ष ओलीले नेपालको सामाजिक तथा राजनीतिक परिवर्तनमा दुवै नेताले अतुलनीय योगदान पुर्‍याएको स्मरण गरेका हुन् ।

उनले पुष्पलाल श्रेष्ठलाई केवल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका रूपमा मात्र नभई इतिहासका नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा चित्रण गरे । पुष्पलालले राजनीतिक आन्दोलनलाई जनताको दैनिक जीवन, विशेषगरी मजदुर र किसानका समस्यासँग जोड्ने महत्वपूर्ण काम गरेको उनले बताए ।

शहीद गङ्गालाल श्रेष्ठका भाइ पुष्पलालले आफ्ना दाजुबाट प्राप्त प्रेरणालाई जीवनभर परिवर्तनका लागि संघर्षमा रूपान्तरण गरेको उल्लेख गर्दै ओलीले उनको योगदानको प्रशंसा गरे ।

त्यसैगरी, अध्यक्ष ओलीले बीपी कोइरालालाई बहुआयामिक र नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गरे। पुष्पलाल र बीपी दुवैले आ–आफ्नो क्षेत्रबाट मुलुकको रूपान्तरणमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै उनीहरूका असल कार्यबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

ओलीका अनुसार तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लोकतान्त्रिक तथा प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने पुष्पलालको नीति सुरुमा स्वीकार नगरिए पनि २०४६ सालको राजनीतिक परिवर्तनमा त्यही नीति मुख्य आधार बनेको थियो ।

‘अहिले आन्दोलनले केही धक्का महसुस गरे पनि अग्रज नेताहरूको दीर्घकालीन सोच, दूरदृष्टि र दृढताबाट प्रेरणा लिएर आन्दोलनलाई पुनः सशक्त रूपमा अघि बढाउन सकिन्छ,’ ओलीले भने, ‘बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासनकालले नेपाली राजनीतिलाई सधैँ ऊर्जा र प्रेरणा प्रदान गरिरहनेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?