Butwal Today

वडा कार्यालय जाने कालोपत्रे बाटो खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढ्दो

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

नवलपरासी । बर्दघाट नगरपालिका १४ को गङ्गाबस्ती चोकदेखि वडा कार्यालय जाने कालोपत्रे सडक जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढेको छ ।

लामो समयदेखि मर्मत हुन नसक्दा सडकको कालोपत्र उप्किएको छ भने विभिन्न स्थानमा ठुला खाल्डाखुल्डी परेका छन् ।

वर्षायाममा खाल्डामा पानी जम्ने भएकाले सवारी चालकलाई सडकको वास्तविक अवस्था छुट्टाउन कठिन हुने गरेको छ । यसले दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा भारी मालवाहक सवारीसाधन दुर्घटनामा पर्ने जोखिम बढाएको स्थानीयको भनाइ छ ।

स्थानीयका अनुसार केही महिनाअघि यही सडकको खाल्डाखुल्डीका कारण एउटा ट्र्याक्टर पल्टिएको थियो । उक्त घटनामा मानवीय क्षति नभए पनि यसअघि पनि मोटरसाइकल तथा अन्य सवारीसाधन पटक–पटक दुर्घटनामा पर्ने गरेका छन् ।

वडा कार्यालय जाने मुख्य पहुँच मार्गको यस्तो दयनीय अवस्थाले स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको बताएका छन् ।

स्थानीय विजय पाण्डेले समयमै सडक मर्मत नगरिँदा जोखिम झन् बढ्दै गएको बताए । उनले भने, “सडकमा खाल्डा नभएको ठाउँ नै छैन । ग्राभेल सडकभन्दा कालोपत्रे सडक उप्किएपछि झन् जोखिम बढेको छ । बेलैमा मर्मत गरेको भए कम खर्चमै बन्ने थियो । अहिले त पुरै भत्किएपछि मात्र बनाउने जस्तो देखिन्छ ।”

वडा सदस्य वीरबहादुर कुँवरले गत आर्थिक वर्षमा सडक मर्मतका लागि २७ लाख रुपैयाँको ठेक्का आह्वान गरिए पनि ठेक्का नलागेका कारण काम अघि बढ्न नसकेको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा पनि सडक मर्मतका लागि नगरपालिकामा बजेटको प्रस्ताव गरिएको छ । “नगरपालिकाको खाता सञ्चालन भएपछि काम सुरु हुने अपेक्षा गरेका छौँ,” उनले भने ।

स्थानीयवासीले निर्माण हुने सडकको गुणस्तर कमजोर हुँदा नयाँ सडक निर्माण गर्नुको सट्टा हरेक वर्ष पुरानै सडक मर्मत गर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् । उनीहरूले दीर्घकालसम्म टिक्ने गुणस्तरीय सडक निर्माणमा जोड दिएका छन् ।

स्थानीय अगुवा माधव तिवारीले केही महिनाअघि ट्र्याक्टर पल्टिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सडक तत्काल मर्मत गर्न स्थानीय तहको ध्यानाकर्षण गराएका थिए । तर, लामो समय बितिसक्दा पनि सडक मर्मत हुन नसकेको र दिनप्रतिदिन अवस्था झन् बिग्रँदै गएको स्थानीयको भनाइ छ ।

त्रिवेणी क्षेत्रका सर्वसाधारणले समेत यही सडक प्रयोग गर्ने भएकाले यहाँ सवारी चाप अत्यधिक रहने गरेको छ । मुख्य शाखा सडकका रूपमा रहेको यो सडक समयमै मर्मत नगरे ठुलो दुर्घटना हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल सुधारको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?