Butwal Today

लुम्बिनी अपडेट : १३ सवारी दुर्घटना, १ जनाको मृत्यु, ३१८ सवारी कारबाहीमा

६ श्रावण २०८३, बुधबार
अ+
अ-

बुटवल ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका विभिन्न राजमार्ग तथा सडकखण्डमा १३ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।

दुर्घटनाको संख्या बढ्दै जाँदा ट्राफिक नियमको पालना, सवारीसाधनको प्राविधिक अवस्था र चालकको सतर्कता अझै चुनौतीका रूपमा रहेको देखिएको छ । प्रहरीले तीव्र गति, लापरबाहीपूर्वक सवारी चलाउने, ओभरटेक, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लंघनजस्ता कारणले अधिकांश दुर्घटना हुने गरेको जनाएको छ ।

यसै अवधिमा ट्राफिक प्रहरीले ३ सय १८ वटा सवारीसाधनमाथि कारबाही गरेको छ । कारबाहीबाट ३ लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

सडक सुरक्षालाई प्रभावकारी बनाउन २४ घण्टामा ४२ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । ती कार्यक्रममार्फत २ हजार १ सय ९७ जना चालक तथा सर्वसाधारणलाई ट्राफिक नियम, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराइएको प्रहरीले जनाएको छ ।

यसैबीच, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित ढुङ्ग्रेखोलामा पर्ने सालझण्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खस्दा असार २८ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खिदिमबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।

प्रारम्भिक निरीक्षणमा सडक खुलाउन केही समय लाग्ने देखिएपछि सम्बन्धित निकायसँग समन्वय गरी अवरोध हटाउने काम अघि बढाइएको थियो । आवश्यक प्रयासपछि उक्त सडक साउन ४ गते साँझ ७ः३० बजेदेखि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, ढुङ्गा खस्ने तथा चिप्लो सडकका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले यात्रा अघि सडकको अवस्था बुझ्न, सवारीको प्राविधिक परीक्षण गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?