© 2026
अर्घाखाँची । अर्घाखाँचीका ट्याक्सी चालकलाई कपिलवस्तुको गोरुसिङ्गेमा फ्रुटीमा लठ्याउने औषधी मिसाएर बेहोस बनाइ सुनका गरगहना, नगद र मोबाइल लुट्ने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न अर्का एक व्यक्तिको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
गत असार २९ गते अर्घाखाँचीको सन्धिखर्कस्थित शान्ति बगैँचाबाट गोरुसिङ्गेसम्म जानुपर्ने भन्दै दुई जना व्यक्तिले ट्याक्सी व्यवसायी सन्तोष शाहीको गाडी रिजर्भ गरेका थिए । चालक शाहीले दुई जना व्यक्तिलाई लगेर कपिलवस्तु तर्फको यात्रामा निस्कन्छन् ।
यात्राका क्रममा गोरुसिङ्गे पुगेपछि अत्यधिक गर्मी भएको भन्दै उनीहरूले चालकलाई फ्रुटी किनेर दिएका थिए । सोही फ्रुटीमा लठ्याउने औषधी मिसाएर चालकलाई लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
फ्रुटी सेवन गरेलगत्तै चालक शाही अचेत भएपछि उनीमाथि लुटपाट गरिएको थियो । लुटेराहरूले उनको करिब दुई तोलाको सुनको सिक्री, हातमा लगाएको औँठी, स्मार्टफोन तथा ट्याक्सीभित्र रहेको करिब आठ हजार रुपैयाँ नगद लुटेर फरार भएका थिए । अचेत अवस्थामा रहेका चालकलाई पछि उद्धार गरिएको थियो ।
घटनालाई गम्भीर रूपमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले विशेष टोली परिचालन गर्दै विभिन्न जिल्लामा खोजी अभियान सञ्चालन गरेको थियो । अनुसन्धानकै क्रममा आइतबार स्याङ्जा जिल्ला प्रहरी कार्यालय वालिङको सहयोगमा वालिङ नगरपालिका–८ निवासी नेत्रकुमार सुनार लोहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । पक्राउ परेका सुनारलाई अर्घाखाँची जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले बताए । फरार रहेका अर्का आरोपितको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले पक्राउ परेका नेत्रकुमार सुनारको आपराधिक पृष्ठभूमि समेत उजागर गरेको छ । प्रहरीका अनुसार उनले यसअघि २०५४ सालमा कर्तव्य ज्यान मुद्दामा तनहुँ कारागारमा १० वर्ष कैद सजाय भोगिसकेका छन् ।
त्यसपछि जबरजस्ती करणी मुद्दामा चितवन कारागारमा पाँच वर्ष कैद सजाय पनि भोगेको खुलेको छ । यसबाट प्रष्ट हुन्छ उनी विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन् ।
प्रहरीले फरार आरोपितलाई पनि छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइने विश्वास व्यक्त गरेको छ । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीले विशेष गरी सार्वजनिक यातायात र ट्याक्सी चालकहरूलाई अपरिचित यात्रुसँग सावधानी अपनाउन आग्रह गरेको छ । यात्रुले दिएको खानेकुरा वा पेय पदार्थ सहज रूपमा सेवन नगर्न, शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई खबर गर्न तथा रातिको समयमा यात्रु बोक्दा थप सतर्कता अपनाउन प्रहरीले सुझाव दिएको छ ।