Butwal Today

लुम्बिनी प्रदेश प्रहरी लगातार तीन महिना देशकै उत्कृष्ट

६ श्रावण २०८३, बुधबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा लगातार तीन महिना देशकै उत्कृष्ट प्रदेश प्रहरी कार्यालयको स्थान हासिल गरेको छ। प्रहरी नायब महानिरीक्षक डीआईजी भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको कार्यालयले वैशाख, जेठ र असार महिनाको मूल्याङ्कनमा सातवटै प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थान कायम राखेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, अनुसन्धानको प्रभावकारिता, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, प्रशासनिक अनुशासन, मानवअधिकारको पालना, नागरिकसँगको समन्वय, फरार प्रतिवादी पक्राउ, राजस्व असुली तथा सीमा सुरक्षालगायत विभिन्न सूचकका आधारमा मासिक कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। सोही मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरीले लगातार तीन महिना उत्कृष्ट नतिजा हासिल गरेको हो।

डीआईजी खत्रीको नेतृत्वमा प्रदेश प्रहरीले सेवा प्रवाहलाई प्रविधिमैत्री र नागरिकमुखी बनाउन विभिन्न सुधारका कार्यक्रम अघि बढाएको जनाएको छ। डिजिटल उजुरी प्रणाली, एसएमएसमार्फत सूचना प्रवाह, डिजिटल अभिलेखीकरण तथा प्रशासनिक सुधारका कार्यक्रम सञ्चालन गरिएका छन्। साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेश प्रहरीले ’ जस्ता कार्यक्रम सञ्चालन गरेको छ। यसमार्फत साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै प्रविधिको प्रयोगमार्फत अपराध नियन्त्रणमा जोड दिइएको कार्यालयको भनाइ छ।

प्रदेशभरका जिल्ला तथा इलाका प्रहरी कार्यालयको नियमित अनुगमन, कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्याङ्कन, अनुशासन र सेवा प्रवाहमा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ। यसले संगठनभित्र उत्तरदायित्व र कार्यसम्पादन संस्कृतिलाई थप मजबुत बनाएको प्रहरी कार्यालयले जनाएको छ।अपराध नियन्त्रणतर्फ लागुऔषध ओसारपसार, मानव बेचबिखन, संगठित अपराध, फरार प्रतिवादी पक्राउ तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको प्रहरीको दाबी छ। भारतसँग जोडिएका सीमावर्ती जिल्लामा सुरक्षा समन्वयलाई पनि थप प्रभावकारी बनाइएको जनाइएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय, स्थानीय तह, महिला समूह, युवा क्लब तथा नागरिक समाजसँग सहकार्य गर्दै लागूऔषध दुर्व्यसन नियन्त्रण, साइबर सुरक्षा, महिला तथा बालबालिका सुरक्षा तथा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिएका छन्। प्रहरी प्रधान कार्यालयको मूल्याङ्कनमा लगातार तीन महिना उत्कृष्ट बन्न सफल लुम्बिनी प्रदेश प्रहरीले प्रभावकारी नेतृत्व, सेवा प्रवाहमा सुधार, अपराध नियन्त्रण तथा प्रविधिमैत्री अभ्यासका कारण उल्लेखनीय नतिजा हासिल गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?