© 2026
रोल्पा । रोल्पाको वन क्षेत्र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा वनजन्य उत्पादनबाट मात्रै २५ करोड ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ।
कार्यालयका अनुसार उक्त कारोबारबाट स्थानीय श्रमिकले १३ करोड २८ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेका छन् भने निजी कृषक तथा सुपरभाइजरले करिब ९ करोड ५१ लाख रुपैयाँ आम्दानी गरेका छन्। नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र सामुदायिक वन उपभोक्ता समूहले पनि वनजन्य उत्पादनबाट उल्लेखनीय राजस्व प्राप्त गरेका छन्।
वन क्षेत्रका गतिविधिबाट १ लाख २५ हजारभन्दा बढी श्रमदिन बराबरको रोजगारी सिर्जना भएको छ। यसबापत स्थानीय श्रमिकलाई १० करोड ६० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक वितरण गरिएको कार्यालयले जनाएको छ।
खोटो, टिमुर, चुत्रो, गुजरगानो लगायत जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको उत्पादन र बिक्रीबाट पनि उल्लेखनीय आम्दानी भएको छ। निजी किसानले आफ्नै जग्गामा उत्पादन गरेका वनजन्य वस्तु बिक्री गरेर करिब ८ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेका छन्।
तथ्यांकअनुसार सामुदायिक वनबाट १ हजार ८८४ मेट्रिक टन खोटो, निजी जग्गाबाट ४६ हजार घनफिटभन्दा बढी काठ तथा ४४० मेट्रिक टन गैरकाष्ठ वन पैदावार उत्पादन तथा बिक्री भएको छ।
डिभिजन वन कार्यालयका अनुसार प्रभावकारी वन व्यवस्थापन, सामुदायिक सहभागिता र वनजन्य उत्पादनको व्यवसायीकरणका कारण रोल्पाको वन क्षेत्र हरियाली संरक्षणसँगै रोजगारी सिर्जना र स्थानीय आर्थिक समृद्धिको बलियो आधारका रूपमा स्थापित हुँदै गएको छ।