© 2026
दाङ । प्रतिनिधिसभा सदस्य मञ्जु भुसालले निर्माण व्यवसायीलाई सहज र सुरक्षित रूपमा काम गर्ने वातावरण सिर्जना गर्न राज्य प्रतिबद्ध रहेको बताएकी छन्।
नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैटौं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले विगतमा निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको उल्लेख गरिन्। अब सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनसँगै निर्माण क्षेत्रका समस्या समाधान हुँदै विकास निर्माणले थप गति लिने विश्वास व्यक्त गरिन्।
भुसालले निर्माण क्षेत्र देशको आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले गुणस्तरीय, समयमै र पारदर्शी निर्माण कार्यका लागि आवश्यक नीति तथा कानुनी सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। उनले निर्माण व्यवसायी र राज्यबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त ९मुकेश०, उपमहासचिव मंगलसिंह शाह, लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना लगायतले सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनपछि निर्माण क्षेत्रमा देखिएको ‘लो बिडिङ’को समस्या अन्त्य भई गुणस्तरीय निर्माणका लागि नयाँ आधार तयार भएको धारणा राखेका थिए। कार्यक्रममा निर्माण क्षेत्र र समाजमा योगदान पुर्याएका विभिन्न व्यक्तित्व तथा पत्रकारहरूलाई सम्मानसमेत गरिएको थियो।