© 2026
काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगिएका नागरिकले अब उजुरी दिन वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दर्ता गर्न सकिनेछ । उजुरी दर्ता मात्र होइन, त्यसको कारबाही प्रक्रिया कहाँसम्म पुगेको छ भन्ने जानकारीसमेत अनलाइनबाटै लिन सकिने व्यवस्था गरिएको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले साउन १ गतेदेखि अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो ।
सोमबार श्रममन्त्री रामजी यादव वैदेशिक रोजगार विभाग पुगेर उक्त प्रणालीबारे जानकारी लिएका थिए । उनले वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएका श्रमिकका समस्यालाई सहज रूपमा सम्बोधन गर्न यो सेवा सुरु गरिएको बताए ।
मन्त्री यादवले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइने उल्लेख गर्दै पीडितलाई छिटो न्याय दिलाउन अनलाइन प्रणाली प्रभावकारी हुने बताए ।
विभागमा पुगेर उनले पीडित तथा सेवाग्राहीसँग भेट गर्दै ठगी हुनबाट सचेत रहन र ठगी गर्ने व्यक्ति वा घटनाबारे अनलाइनमार्फत उजुरी गर्न आग्रह गरे ।
उनले भने, “अब ठगी मुद्दा दर्ता गर्न काठमाडौं धाइरहनु पर्दैन । घरमै बसेर अनलाइनबाट मुद्दा दर्ता गर्न र त्यसको कारबाही प्रक्रिया पनि सहजै बुझ्न सकिन्छ ।”
मन्त्रालयका अनुसार पीडितले मोबाइल वा कम्प्युटरबाट पोर्टलमा प्रवेश गरी आवश्यक कागजात तथा प्रमाण अपलोड गरेर उजुरी दर्ता गर्न सक्नेछन् । उजुरी प्राप्त भएपछि विभागले अध्ययन गरी दर्ता प्रक्रिया अघि बढाउनेछ । उजुरी दर्ता भएपछि सम्बन्धित व्यक्तिको मोबाइल र इमेलमा सूचना पठाइने व्यवस्था गरिएको छ ।
सन्देशमा उपलब्ध गराइएको ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर पीडितले जुनसुकै बेला आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्नेछन् ।
विभागका अनुसार साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको यो प्रणालीमार्फत चार दिनमै १४ वटा उजुरी दर्ता भएका छन् । अनलाइन प्रणालीको प्रयोग विस्तार गर्न विभागका कर्मचारीले पनि अभ्यास गरिरहेका छन् ।
मुद्दा दर्ता शाखाका एक कर्मचारीले सेवाग्राही कार्यालयमै फाइल बोकेर आए पनि त्यहीँबाट अनलाइनमार्फत उजुरी दर्ता गरिदिने गरिएको बताए । अधिकांश नागरिकलाई यस्तो व्यवस्था सुरु भएको जानकारी नहुँदा अझै पनि कागजात बोकेर विभाग आउने गरेको उनको भनाइ छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएका वसन्त थापाले विभाग आएपछि मात्रै अनलाइन उजुरी प्रणालीबारे जानकारी पाएको बताए । उनले आम नागरिकलाई यसबारे पर्याप्त सूचना प्रवाह गर्न आवश्यक रहेको धारणा राखे ।
नवलपरासीका रोहित कुर्मीले छ महिनाअघि ठगीसम्बन्धी उजुरी दर्ता गर्दा पटक–पटक काठमाडौं आउनुपरेको र होटलमा बस्नुपर्ने भएकाले ठूलो खर्च भएको अनुभव सुनाए । अनलाइन प्रणाली सुरु भएपछि यस्तो झन्झट हट्ने अपेक्षा उनले व्यक्त गरे ।
भैरहवाकी बबिता भट्टराईले आफूलाई क्रोएसिया पठाइदिने भन्दै साथीकी दिदीले १५ लाख रुपैयाँ ठगी गरेको बताइन् । सोही विषयमा उजुरी दिन विभाग पुगेकी उनले अब अनलाइनबाटै मुद्दाको प्रगति हेर्न सकिने भएकाले राहत महसुस भएको बताइन् ।
उनले भनिन्, “डिजिटल प्रणालीले अब मेरो मुद्दाको कारबाही प्रक्रिया कहाँसम्म पुगेको छ र के भइरहेको छ भन्ने जानकारी घरमै बसेर लिन पाउने भएकी छु ।”