Butwal Today

लुम्बिनी अपडेट : पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, २०४ सवारीसाधन कारबाहीमा

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

बुटवल ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित ढुङ्ग्रेखोलामा पर्ने सालझण्डी–ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा र पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार असार २८ गते साँझ करिब ७ बजे सडक अवरुद्ध भएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी खिदिमबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको नेतृत्वमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो ।

घटनास्थलको निरीक्षणका क्रममा माथिबाट निरन्तर ढुङ्गा र पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन कठिन भएको प्रहरीले जनाएको छ । सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही दिन लाग्न सक्ने अनुमान गरिएको छ ।

सडक अवरुद्ध भएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने सवारीसाधन पूर्ण रूपमा प्रभावित भएका छन् । जोखिम अझै कायम रहेकाले आवश्यक कामबाहेक उक्त सडक प्रयोग नगर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यसैबीच, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार पछिल्लो २४ घण्टामा ५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २०४ वटा सवारीसाधनमाथि कारबाही गरी २ लाख ५२ हजार ५०९ रुपैयाँ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।

त्यसैगरी, सडक सुरक्षा प्रवर्द्धनका लागि सञ्चालन गरिएका २४ वटा ट्राफिक सचेतना कार्यक्रममार्फत एक हजार ३०७ जना सर्वसाधारण तथा सवारीचालक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा अन्य प्राकृतिक विपद्का कारण सडक अवरुद्ध हुने जोखिम उच्च रहने भएकाले अनावश्यक यात्रा नगर्न, यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्था बुझ्न तथा कुनै पनि आपत्कालीन अवस्था आएमा नजिकको प्रहरी कार्यालय वा आपत्कालीन सेवामा तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?