© 2026
काठमान्डौँ ।
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।
नेपाल र दक्षिण कोरियाबीच भएको समझदारीपत्रअनुसार कोरियाले ७ हजार २ सय जनाको कोटाका लागि आवेदन माग गरेको छ ।
एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय तथा वन क्षेत्रमा १ सय जनाको माग गरेको छ। सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुलाएको जनाएको छ ।
आवेदन २७ जुलाई २०२६ देखि २ अगस्ट २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ ।
आवेदक १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैरकानुनी रूपमा बसोबास गरी फर्काइएको नभएको, नेपाल सरकारले अन्य मुलुक जान रोक नलगाएको तथा कोरियामा ई–९ वा ई–१० भिसामा ५ वर्ष वा सोभन्दा बढी नबसेको हुनुपर्नेछ ।
पहिलो चरणको भाषा परीक्षाको नतिजापछि दोस्रो चरणको परीक्षा सञ्चालन गरिनेछ। परीक्षाका लागि २८ अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ ।
अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा प्रकाशन भएको मितिदेखि २ वर्षसम्म वैध रहनेछ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र कोरियामा रोजगारी सुनिश्चित हुने आधार नभएको पनि स्पष्ट पारेको छ ।