© 2026
जनकपुरधाम ।
जनकपुरस्थित जानकी मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्ता लखेटिएका छन् । पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेको जनाइएको छ ।
साम्पाङ मंगलबार जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम थियो । उनी पुग्नुअघि स्वागतका लागि मन्दिर परिसरमा भेला भएका पार्टीका नेता तथा कार्यकर्तामाथि हिन्दु सम्राट सेनाका कार्यकर्ताले विरोध गर्दै लखेटेका हुन् ।
साम्पाङ भने पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर आउने तयारीमा छन् । हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा ‘गाई काटेर खानुपर्छ’ भन्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै उनलाई जानकी मन्दिरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ ।
यस घटनापछि साम्पाङले फेसबुकमार्फत प्रतिक्रिया जनाएका छन् । उनले लेखेका छन्, ‘गाई कसले खाएको रैछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें ! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ ? जय जानकी मन्दिर !’
यसअघि उनले अर्को फेसबुक स्टाटसमा जनकपुरमा विवाद भएको र गृहमन्त्रीको फोन अफ रहेको उल्लेख गर्दै ‘जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ !’ लेखेका थिए ।
साम्पाङले विगतका विषय र धर्मका नाममा विवाद सिर्जना गरिएको आरोप लगाउँदै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् ।
श्रम संस्कृति पार्टीले आज जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।