Butwal Today

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन

५ श्रावण २०८३, मंगलवार
अ+
अ-
काठमाडौँ । नेकपा नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबिचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।
नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौँस्थित रसियन कल्चर सेन्टर मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले शिक्षा, विज्ञान–प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन तथा मानव स्रोत विकासलगायत क्षेत्रमा भएको सहकार्यले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाएको बताए ।
उनले नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले गरेको सहयोग उल्लेखनीय रहेको स्मरण गर्दै रुसमा अध्ययन गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न क्षेत्रमा नेपालको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।
पुनले भने, “नेपाल–रुस सम्बन्ध केवल कूटनीतिक आदानप्रदानमा मात्र सीमित छैन । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य, संस्कृति, पर्यटन र मानव स्रोत विकासलगायतका क्षेत्रमा भएको लामो र निरन्तरको सहकार्यले द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
नेपालको विकास यात्राको प्रारम्भिक चरणमा भौतिक पूर्वाधार निर्माण तथा औद्योगिकीकरणमा रुसले पुर्‍याएको सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ ।”
उनले रुसमा उच्च शिक्षा हासिल गरेका हजारौँ नेपालीले चिकित्सा, इन्जिनियरिङ, विज्ञान तथा अन्य विभिन्न पेसागत क्षेत्रमा नेपालका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे ।
नेपाल–रुसबिच विगत ७० वर्षमा निर्माण भएको मित्रता र सहकार्यको बलियो आधारलाई टेकेर व्यापार तथा लगानी, ऊर्जा, पर्यटन, शिक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कृषि र सांस्कृतिक आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।
पुनले नेपाल–रुस कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव विगतका उपलब्धिको उत्सव मात्र नभई भविष्यको सहकार्यलाई अझ मजबुत बनाउने अवसरसमेत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?