Butwal Today

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ: सभापति थापा

५ श्रावण २०८३, मंगलवार
अ+
अ-
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णयलाई स्वागतयोग्य बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले शिक्षा र स्वास्थ्यमा समता कर लगाउने व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्दै आएको उल्लेख गरेका छन् ।
उनले “शिक्षा र स्वास्थ्य विलासिताका विषय होइनन् । निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् । धेरैका लागि त्यो कुनै विलासिता होइन, बाध्यता हो,” भनेका छन् ।
थापाले निजी क्षेत्र पनि देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार रहेको उल्लेख गर्दै सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नहुने धारणा व्यक्त गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पनि विधिसम्मत रूपमा पूरा गरिनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?