© 2026
काठमाडौं । सरकारले बाढी, पहिरो लगायतका प्राकृतिक तथा अन्य विपद्को पूर्वचेतावनी नागरिकसम्म अझ छिटो र प्रभावकारी रूपमा पुर्याउन मोबाइल फोन प्रसारण प्रणाली सेल ब्रोडकास्ट लागू गर्ने तयारी गरेको छ।
यस सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाको अध्यक्षतामा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीको उपस्थितिमा छलफल सम्पन्न भएको छ। बैठकमा विपद् व्यवस्थापन र दूरसञ्चारसँग सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।
प्राधिकरणका अनुसार सेल ब्रोडकास्ट प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको महत्वपूर्ण हिस्सा हो। यस प्रविधिमार्फत मोबाइल सञ्चारको रेडियो एक्सेस नेटवर्क प्रयोग गरेर जोखिम क्षेत्रमा रहेका सबै मोबाइल प्रयोगकर्तालाई एकै समयमा चेतावनी सन्देश पठाउन सकिनेछ। जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले हाल प्रयोगमा रहेको एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, कतिपय प्रयोगकर्ताले सन्देश नहेर्ने तथा डेलिभरीमा समय लाग्ने समस्या रहेको बताए।
उनका अनुसार सेल ब्रोडकास्ट प्रणाली लागू भएपछि जोखिम क्षेत्रमा रहेका सबै मोबाइलमा एकैसाथ चेतावनी सन्देश पुग्नेछ। सन्देश आउँदा मोबाइलमा विशेष साइरनजस्तो ध्वनि बज्ने भएकाले प्रयोगकर्ताको तत्काल ध्यानाकर्षण हुने र रातिको समयमा समेत समयमै सचेत गराउन सहज हुने विश्वास गरिएको छ।
यो प्रणालीबाट लाखौँ नागरिकलाई एकैपटक सूचना पठाउन सकिनेछ। बाढी, पहिरो मात्र होइन, भूकम्प, डढेलो तथा अन्य प्राकृतिक र मानवीय विपद्का बेला पनि यही प्रणालीमार्फत पूर्वचेतावनी जारी गर्ने योजना सरकारको छ।सरकारले गत वर्षदेखि यस प्रणालीको सम्भाव्यता अध्ययन सुरु गरेको थियो। प्रारम्भिक अनुमानअनुसार प्रणाली कार्यान्वयनका लागि ४० करोडदेखि ७५ करोड रुपैयाँसम्म खर्च लाग्न सक्ने बताइएको छ।