© 2026
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेशसभामा प्रमुख राजनीतिक दलहरू सबै एउटै सरकारमा सहभागी हुने अभ्यास लोकतान्त्रिक प्रणालीको मर्मविपरीत हुने बताएका छन्।
आइतबार आयोजित पत्रकार सम्मेलनमा शर्माले सुदूरपश्चिम र कर्णाली प्रदेशमा विकसित राजनीतिक घटनाक्रमप्रति संकेत गर्दै प्रदेशसभामा बलियो प्रतिपक्षको उपस्थिति अपरिहार्य रहेको बताए। कांग्रेस, एमाले र नेकपा मिलेर सरकार बनाउने प्रस्तावप्रति असहमति जनाउँदै उनले आवश्यक परे कांग्रेस सरकारमा नबसी प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे।
उनले संविधान संशोधनको बहस चलिरहेका बेला संविधानको मूल मर्म कमजोर हुने गरी सबै प्रमुख दल एउटै सरकारमा सहभागी हुनु उपयुक्त नहुने धारणा राखे। सरकार गठन वा पुनर्गठनका क्रममा सबै पक्षको आत्मसम्मान र सहअस्तित्वलाई ध्यानमा राखेर संवादमार्फत समाधान खोजिने पनि उनले बताए।
यता, सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरिसकेका छन् भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बजेट पारित हुन नसक्दा ‘बजेट होलिडे’ सुरु भएको छ। कर्णालीमा कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
यसैबीच, नेपाली कांग्रेसले बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले सोमबार ललितपुरस्थित यूएन पार्कबाट ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गर्ने जनाएको छ। कार्यक्रममा पार्टी सभापति गगन थापासहित शीर्ष नेताहरू सहभागी हुनेछन्।