© 2026
बुटवल । अर्घाखाँचीको शितगङ्गा नगरपालिका–२ शितखोलामा निर्माण सम्पन्न भएको झोलुङ्गे पुलले स्थानीय बासिन्दाको दैनिक जीवनमा परिवर्तन ल्याएको छ । शितखोला डाँडापुल–फलाफोर–पातलपोखरी जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएपछि वर्षौँदेखिको आवतजावतको समस्या समाधान हुनुका साथै सडक सञ्जालसम्म पुग्न लाग्ने समय करिब दुई घण्टाबाट घटेर १० मिनेटमा सीमित भएको छ ।
दुई करोड ५२ लाख ७६ हजार ७१३ रुपियाँ लागत अनुमान रहेको पुल एक करोड ८१ लाख ८६ हजार ९७२ रुपियाँमा निर्माण सम्पन्न भएको हो । २०८२ जेठ ९ गते सम्झौता भई २०८३ असार ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पुल २०८३ असार २२ गते नै निर्माण सम्पन्न गरिएको हो । सडक पूर्वाधार कार्यालयका प्रमुख गोपिराम पुनले २९० मिटर लम्बाइको ‘डी–टाइप’ झोलुङ्गे पुलबाट काउले, पातलपोखरी र नेपाने क्षेत्रका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको बताए ।
यसअघि यी बस्तीका स्थानीयले सडक सञ्जालमा पुग्न कठिन भीरपाखा र खोल्सा पार गर्दै करिब दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको थियो । अहिले पुल सञ्चालनमा आएपछि सन्धिखर्क–गोरुसिङ्गे सडकसम्म पुग्न करिब १० मिनेट मात्र लाग्ने भएको छ ।
शितगङ्गा नगरपालिका– २ बुढिचोरका झनक केसीले पुल निर्माणसँगै दुई घण्टा लगाएर स्कुल जानुपर्ने विद्यार्थी अहिले २० मिनेटमा पुग्ने गरेको बताए ।
पुल निर्माणसँगै स्थानीय किसानलाई उत्पादन भएका कृषि उपज बजारसम्म पु¥याउन निकै सहज भएको छ । पहिले यातायातको अभावका कारण तरकारी, फलफूल, अन्नबाली तथा अन्य कृषि उत्पादन समयमै बजार पु¥याउन कठिन हुने गरेकोमा अहिले ढुवानी खर्च र समय दुवै घटेको स्थानीयको अनुभव छ । यसले किसानको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ ।
शितगङ्गा नगरपालिका–२ काउलेका स्थानीय यादव घिमिरेले पुल निर्माण भएपछि गाउँको जीवनशैली नै फेरिएको बताए । उनका अनुसार विगतमा सडकसम्म पुग्न दुई घण्टा लाग्ने गरेकामा अहिले १० मिनेटमै सन्धिखर्क–गोरुसिङ्गे सडकमा पुग्न सकिने भएको छ । पुलले विद्यार्थी, बिरामी, ज्येष्ठ नागरिक तथा दैनिक आवतजावत गर्ने सबैलाई ठुलो राहत पुगेको उनले बताए ।
सडक सञ्जालसँग प्रत्यक्ष पहुँच स्थापित भएपछि शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधि थप प्रभावकारी हुने विश्वास स्थानीयले व्यक्त गरेका छन् ।