Butwal Today

एकै महिनामा १२ जनाले गुमाए ज्यान

४ श्रावण २०८३, सोमबार
अ+
अ-

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले असार महिनामा शान्ति सुरक्षा, अपराध नियन्त्रण र फैसला कार्यान्वयनका क्षेत्रमा प्राप्त गरेका उपलब्धि तथा जिल्लाको शान्ति सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार बितेको एक महिनामा सल्यानमा आत्महत्या र सवारी दुर्घटनाका दुःखद घटनाहरू उच्च देखिएका छन् ।
असार महिनाभर जिल्लामा ९ जनाले आत्महत्या गरेका छन् भने १० वटा सवारी दुर्घटनामा परि ३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार असार महिनाभर जिल्लामा २१ वटा विभिन्न प्रकृतिका मुद्दाहरू दर्ता भएका छन् । जसमा ६ वटा जघन्य तथा गम्भीर अपराध, एउटा आर्थिक अपराध, दुई वटा सामाजिक अपराध र १२ वटा अन्य प्रकृतिका मुद्दा रहेका छन् ।

प्रहरीले पुराना र नयाँ गरी २६ वटा मुद्दा फर्छ्यौट गरेको छ भने विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २८ जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ । यसै गरी लामो समयदेखि फरार रहँदै आएका ११ जना प्रतिवादीहरूलाई पक्राउ गरी ६ वर्ष १ महिना कैद भुक्तान गराउनुका साथै ९७ हजार ६ सय रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरी निरीक्षक भट्टराईले जनाए ।

प्रहरीको तथ्याङ्क अनुसार असार महिनामा जिल्लामा आत्महत्याका घटनाहरू डरलाग्दो रूपमा देखिएका छन् । महिनाभर झुन्डिएर ७ जना र विष सेवन गरेर २ जना गरी कुल ९ जनाले आत्महत्या गरेका हुन् । जिल्लामा सडक सुरक्षाको पाटो पनि उत्तिकै चुनौतीपूर्ण देखिएको छ ।

महिनाभर भएका १० वटा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरू माथि प्रहरीले कडा निगरानी राख्दै ४ सय ५५ वटा सवारी साधनलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

जघन्य अपराधतर्फ जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका घटनामा संलग्न आरोपितहरूलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । जसमध्ये एउटा घटनाका प्रतिवादीलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने अर्को घटनामा थप अनुसन्धान भइरहेको छ ।

सामाजिक तथा घरायसी मामिलातर्फ असार महिनामा दर्ता भएका ३ वटा घरेलु हिंसाका उजुरीहरूलाई दुवै पक्षबिच मिलापत्र गराई टुङ्गाइएको छ भने सोही अवधिमा हराएका १० जना व्यक्तिहरूलाई प्रहरीले सकुशल फेला पारी परिवारको जिम्मा लगाएको छ ।

अवैध गतिविधि र प्राकृतिक स्रोतको दोहन नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको जनाएको छ । प्रहरीले असार महिनामा विभिन्न स्थानबाट ९ नाल भरुवा बन्दुक बरामद गर्नुका साथै सो कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

प्राकृतिक स्रोत संरक्षण अभियान अन्तर्गत वन क्षेत्रबाट अवैध रूपमा काटिएको सल्लाको काठ बरामद गरि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ भने स्थानीय नदीहरूबाट भइरहेको नदीजन्य पदार्थको अवैध उत्खननलाई रोक्न त्यसमा प्रयोग भएका सवारी साधनहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्न नियमित गस्ती, चेकजाँच र अपराध नियन्त्रणका गतिविधि सञ्चालन भइरहेको र अपराध न्यूनीकरणका लागि समुदाय स्तरमै सचेतनामूलक कार्यक्रमहरू पनि तीव्र पारिएको सूचना अधिकारी भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?