© 2026
काठमाडौँ । आइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको सेवा अवरुद्ध भएको छ । प्राविधिक समस्याका कारण धेरै प्रयोगकर्ताले ब्राउजरमार्फत फेसबुक प्रयोग गर्न नसकेका हुन् ।
फेसबुक खोल्ने प्रयास गर्दा प्रयोगकर्तालाई ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईँको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’ भन्ने सन्देश देखिएको छ ।
डाउनडिटेक्टर वेबसाइटका अनुसार आइतबार दिउँसो करिब १ः३० बजेदेखि फेसबुकमा समस्या देखिन थालेको हो । त्यसपछि ‘फेसबुक डाउन’ सम्बन्धी रिपोर्ट र खोजीको सङ्ख्या एक्कासि बढेको देखिएको छ ।
समाचार तयार पार्दासम्म फेसबुकको मूल कम्पनी मेटाले सेवा अवरुद्ध हुनुको कारणबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । साथै, सेवा पूर्ण रूपमा कहिलेसम्म सञ्चालनमा आउने भन्ने विषयमा पनि कम्पनीले केही जनाएको छैन ।