Butwal Today

लुम्बिनी प्रदेश अपडेट : दुर्घटनामा एकको मृत्यु, २६१ सवारी कारबाहीमा, पहिरोले सडक प्रभावित

३ श्रावण २०८३, आइतबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ वटा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार दुर्घटनामा घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसै अवधिमा प्रदेशभर भएका ट्राफिक गतिविधिमा ट्राफिक नियम उल्लंघन गर्ने २६१ वटा सवारीसाधनलाई कारबाही गरिएको छ । कारबाहीबाट ४ लाख ४२ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

यसैगरी, ट्राफिक प्रहरीले सञ्चालन गरेका १८ वटा सचेतना कार्यक्रममा ९४० जना लाभान्वित भएका छन् ।

यस्तै, निरन्तर वर्षापछि अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ दुर्गाफाँटस्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा माथिबाट खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरोध हटाउने प्रयास जारी रहेको बताइएको छ ।

त्यसैगरी, रोल्पा जिल्लाको खड्गलाङ–लिवाङ सडकखण्डमा सवारी दुर्घटनाका कारण केही समय यातायात प्रभावित भएको थियो । प्रहरीको समन्वयमा क्रेन प्रयोग गरी दुर्घटनाग्रस्त सवारी हटाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

प्रहरीले वर्षायाममा पहिरो र सडक दुर्घटनाको जोखिम उच्च रहने भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न सबै चालक र यात्रुलाई आग्रह गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?