© 2026
काठमान्डौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रदेशहरूमा नयाँ राजनीतिक समीकरण बन्ने चर्चा चलिरहेका बेला पार्टी अपवित्र साँठगाँठमा लाग्न नहुने बताएका छन् ।
आइतबार वक्तव्य जारी गर्दै नेता खनालले वर्तमान जटिल राजनीतिक परिस्थितिमा कुनै पनि नयाँ राजनीतिक समीकरणबारे निर्णय गर्नुअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् ।
‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्,’ उनले भनेका छन् । ‘आजको आवश्यकताबारे समितिमा विस्तृत छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य तथा वर्गीय दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति–निर्णय गरियोस् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पार्टीलाई दक्षिणपन्थी वर्ग–सम्झौतावादको दलदलमा फस्नबाट संस्थागत रूपमा जोगाउनुपर्ने बताएका छन् । केही नेताहरूको कुर्सीमोह र आत्मतृप्तिका लागि हुने साँठगाँठको प्रवृत्तिलाई रोक्दै आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाउनुपर्ने उनको भनाइ छ ।
‘हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ, यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो,’ खनालले वक्तव्यमा उल्लेख गरेका छन् ।
उनले बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएपछि मुलुकका ज्वलन्त समस्या समाधान हुने जनअपेक्षा रहे पनि राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका तथा छिमेकी मुलुकसँगको सम्बन्धमा उल्टै अन्योल र अस्थिरता बढ्न थालेको दाबी गरेका छन् ।
श्रमजीवी जनता निराश बनेको उल्लेख गर्दै उनले विदेशी हस्तक्षेप र बढ्दो घरेलु अव्यवस्थाविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरू एकताबद्ध भएको जनताले देख्न चाहेको बताएका छन् ।
‘त्यसका निम्ति वामपन्थीहरूले आपसी आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वामपन्थी एकताको पहल गरेको हेर्न जनता चाहन्छन्,’ उनले भनेका छन् । ‘तर विगतमा नेपालका वामपन्थीहरू नीतिहीन, वर्गीय दृष्टिकोणविहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिहरूसँगको सहकार्यमा रमाउँदै आएका छन् ।’
नेपाली कम्युनिस्ट पार्टीले पनि विगतमा यस्तै गल्ती गर्दै आएको उल्लेख गर्दै खनालले अहिले पनि दक्षिणपन्थी शक्तिसँग साँठगाँठ गरेर पार्टीको प्रतिष्ठामा थप आँच पुर्याउने खतरा देखिएको बताएका छन् ।
