Butwal Today

साउने सोमबार पशुपतिनाथमा विशेष तयारी, बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका खुल्ने

३ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ  । पशुपतिनाथ मन्दिरमा साउने सोमबारका अवसरमा दर्शन गर्न आउने लाखौँ श्रद्धालु भक्तजनका लागि सहज, सुरक्षित र व्यवस्थित दर्शनको तयारी अन्तिम चरणमा पुगेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार सोमबार बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिनेछ। बेलुका आरतीपछि राति ८ बजेसम्म दर्शनको व्यवस्था रहनेछ भने विशेष पूजा बिहान ८: ३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्रै सञ्चालन हुनेछ।

दर्शन व्यवस्थापनका लागि कोषका कर्मचारी, मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौँ महानगर प्रहरी तथा विभिन्न धार्मिक तथा सामाजिक संस्थाका स्वयंसेवक परिचालन गरिनेछन्। कोषले भक्तजनको चाप व्यवस्थापन गर्न ६ वटा छुट्टाछुट्टै प्रवेश तथा दर्शन मार्ग निर्धारण गरेको छ। बोलबम यात्रु, सर्वसाधारण, विशेष पूजा, विशेष सुलभ दर्शन तथा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकाका लागि छुट्टाछुट्टै व्यवस्था मिलाइएको जनाएको छ।

विशेष पूजाअन्तर्गत पञ्चामृत पूजाको शुल्क ३,१०० रुपैयाँ र फलफूल तथा मिठाइसहितको पञ्चामृत पूजाको शुल्क ७,५०० रुपैयाँ तोकिएको छ। विशेष सुलभ दर्शन तथा प्रसादीको शुल्क १,००० रुपैयाँ निर्धारण गरिएको कोषले जनाएको छ। श्रद्धालुको सुविधाका लागि विभिन्न स्थानमा पार्किङ, मोबाइल शौचालय, एम्बुलेन्स, प्राथमिक उपचार, स्वास्थ्य सेवा, चन्दन प्रसाद वितरण र जुत्ता–चप्पल राख्ने व्यवस्था समेत गरिएको छ।

कोषले साउने सोमबारमा दर्शन गर्न आउने भक्तजनलाई निर्धारित मार्ग, सुरक्षा निकाय र स्वयंसेवकको निर्देशन पालना गर्दै मर्यादित रूपमा दर्शन गर्न आग्रह गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?