Butwal Today

आगजनीपछि पनि ६२.६० प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल उच्च अदालत नेपालगन्ज इजलास

२ श्रावण २०८३, शनिबार
अ+
अ-

नेपालगन्ज ।  उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले एक वर्षमा  ६२.६० प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको छ ।

जेन–जी आन्दोलनका क्रममा अदालतको भौतिक संरचना र सयौँ मुद्दाका मिसिल जलेर नष्ट हुँदा समेत अदालतले आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय रूपमा ६२.६० प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको हो । अदालतले दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्यमा झार्नुका साथै १८ महिना नाघेका मुद्दा १५ वटामा सीमित गर्न सफल भएको जनाएको छ ।

शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अदालतले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल २ हजार १ सय ६३ वटा मुद्दा लगतमा रहेकामा १ हजार ३ सय ५४ वटा मुद्दा फर्छ्योट गरिएको छ ।

मुख्य न्यायाधीश बामदेव ज्ञवालीले लगतका आधारमा ६२.६० प्रतिशत मुद्दा फर्छ्योट भए पनि अदालतले निर्धारण गरेको वार्षिक लक्ष्यका आधारमा भने ७० प्रतिशत प्रगति हासिल गरेको जानकारी दिए ।

उनका अनुसार अदालतले आर्थिक वर्षभरिमा ७० प्रतिशत अर्थात् १ हजार ७ सय ४३ मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो । वार्षिक अनुमानित लगत २ हजार ४ सय ९० मुद्दा रहेकामा अघिल्लो वर्षबाट ६ सय ४२ मुद्दा जिम्मेवारी सरेर आएका थिए । आर्थिक वर्ष २०८२/८३ मा चालु रहेका ८ सय ९ वटा मुद्दा अब नयाँ आर्थिक वर्षका लागि जिम्मेवारी सरेका छन् ।

मुख्य न्यायाधीश ज्ञवालीका अनुसार असार मसान्तसम्म १८ महिना नाघेका १५ वटा मुद्दा मात्र बाँकी छन् भने दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गरिएको छ । बाँकी रहेका १८ महिना नाघेका मुद्दा पनि साउनभित्रै टुङ्ग्याउने लक्ष्य अदालतले लिएको छ ।

अदालतका अनुसार जेन–जी आन्दोलनका क्रममा ७ सय ५३ वटा मुद्दाका मिसिल जलेर नष्ट भएका कारण करिब चार महिनासम्म मुद्दाको सुनुवाई प्रभावित भएको थियो । हाल ती सबै मिसिल पुनः तयार गरिसकिएको भए पनि अति आवश्यक कागजात संकलन गर्ने काम अझै जारी रहेको अदालतले जनाएको छ ।

मुख्य न्यायाधीश ज्ञवालीले भने, “जेन–जी आन्दोलनका कारण भौतिक पूर्वाधार र मुद्दाका मिसिलमा ठुलो क्षति पुग्दापुग्दै पनि यति धेरै मुद्दा फर्छ्योट गर्न सफल हुनु अदालतका लागि महत्त्वपूर्ण उपलब्धि हो ।”

आगजनीबाट अदालतका इजलास कक्षमा समेत क्षति पुगेको थियो । हाल तीन वटा इजलास कक्ष मर्मतपछि सञ्चालनमा आइसकेका छन् भने बजेट अभावका कारण अझै दुई वटा इजलास कक्ष मर्मत हुन नसक्दा बन्द अवस्थामा रहेका छन् ।

मुख्य न्यायाधीश ज्ञवालीले जलेका मिसिलका कारण मुद्दा सुनुवाइमा केही कठिनाइ भए पनि न्याय सम्पादनको काम निरन्तर सञ्चालन गरिएको बताए । साथै न्याय प्रणालीप्रति नागरिकको विश्वास बढाउन अदालत प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले “न्यायाधीश र आम नागरिकबिच अझै ठुलो खाडल रहेको छ । घटनाको यथार्थ मिसिलमा समावेश हुन नसके सम्बन्धित पक्षले सही न्याय पाउन सक्दैन, यसप्रति हामी गम्भीर छौँ,” भने ।

जिल्लागत तथ्यांकअनुसार बाँके जिल्लाका कुल ७ हजार ४८ मुद्दामध्ये २ हजार ७ सय ३३ वटा मुद्दा फर्छ्योट भएका छन् भने ४ हजार ३ सय १४ मुद्दा अझै बाँकी छन् ।

त्यस्तै बर्दियाका कुल १ हजार ९ सय ९४ मुद्दामध्ये १ हजार ३ सय १२ वटा फर्छ्योट भएका छन् भने ६ सय ८२ वटा मुद्दा बाँकी रहेका छन् ।
अदालतका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कुल २ हजार ६ सय ४६ मुद्दामध्ये २ हजार ४ वटा (७५.७४ प्रतिशत) मुद्दा फर्छ्योट भएका थिए भने २०८०/८१ मा कुल २ हजार ७ सय ८ मुद्दामध्ये १ हजार ९ सय ३४ वटा (७१.४१ प्रतिशत) मुद्दा टुंगो लागेको थियो । हाल उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा ६ जना न्यायाधीश कार्यरत छन् ।

पत्रकार भेटघाट कार्यक्रममा न्यायाधीश मुनेन्द्र अवस्थी, सुकुन्तला घिमिरे, कौशलचन्द्र सुवेदी, निमित्त रजिस्ट्रार गम्भीर रानामगर, सूचना अधिकारी बलबहादुर विष्ट, शाखा अधिकृत अमृता केसी लगायतले अदालत बाट जुनसुकै सूचना लिन कुनै समस्या नरहेको र आवश्यक सूचनाकालागि अदालतमा सम्पर्क गर्न पत्रकारलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?