© 2026
ढाका । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध अदालतले मृत्युदण्डको फैसला सुनाएको छ। अदालतले उनीविरुद्ध मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै इन एब्सेन्टिया सुनुवाइ गर्दै उक्त फैसला गरेको हो।
फैसलासँगै अदालतले शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमालको बंगलादेशभित्र रहेको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ। यसबाहेक भ्रष्टाचार तथा अवैध सम्पत्तिसम्बन्धी अनुसन्धानका क्रममा हसिनाको परिवार र उनीसँग सम्बन्धित भनिएका प्रमुख व्यावसायिक समूहहरूको ठूलो परिमाणमा सम्पत्ति जफत गरिएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।
शेख हसिना सन् २०२४ मा विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएपछि भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। बंगलादेश सरकारले उनको प्रत्यर्पणका लागि भारतसँग औपचारिक अनुरोध गरिसकेको छ।
हसिनाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएकी छन्। उनीसँग सम्बन्धित मुद्दाहरूमा अझै पुनरावेदनलगायत कानुनी प्रक्रिया अगाडि बढ्न सक्ने देखिएको छ, यद्यपि उनी देशबाहिर रहेकाले फैसला कार्यान्वयनको प्रक्रिया जटिल बनेको छ।