© 2026
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ दोस्रो लाच्कास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा मादक पदार्थ सेवन ९मापसे० गरेका चालकले चलाएको ट्रकले दुई यात्रुवाहक बसलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
प्रहरीका अनुसार जनकपुरबाट गरुडातर्फ जाँदै गरेको म.प्र.२–००१ क ०८६७ नम्बरको ट्रकले काठमाडौंबाट धरानतर्फ गइरहेका बा.प्र.०३–००१ ख ५२८४ र बा.प्.०३–००१ ख ३६६० नम्बरका यात्रुवाहक बसलाई ठक्कर दिएको हो। ठक्करको प्रभावले बा.प्र.०३–००१ ख ३६६० नम्बरको बस सडकमै पल्टिएको थियो।
दुर्घटनामा ट्रकका सहचालक धनुषाधाम नगरपालिका–९ धनुषाका करिब ६० वर्षीय लालबहादुर तामाङ, बस चालक हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरका ४३ वर्षीय विकास पौडेल तथा सुनसरीका ४५ वर्षीय प्रदीप खड्का घाइते भएका छन्। यस्तै, सुनसरीको इनरुवा नगरपालिका–२ की ५७ वर्षीया निर्मला देवी गुप्ता, मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४६ वर्षीया रितु वर्ण कार्की, ४४ वर्षीय मेघराज कार्की, इटहरी उपमहानगरपालिका–३२ वर्षीय सफल मगर तथा सुन्दरहरैँचा–५ की ५४ वर्षीया दिलमाया कार्की पनि घाइते भएका छन्।
प्रहरीका अनुसार अधिकांश घाइतेको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक उपचारका लागि चपुरस्थित सिमन्त हाइवे अस्पताल लगिएका सफल मगर भने उपचारकै क्रममा आफैँ अस्पतालबाट हिँडेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक चालक महोत्तरीको बर्दिबास नगरपालिका निवासी करिब ३५ वर्षीय लालबहादुर मगरले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाएको पुष्टि भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।