Butwal Today

एक वर्षमै ५८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषि र पर्यटन पहिलो रोजाइ

२ श्रावण २०८३, शनिबार
अ+
अ-

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी एफडिआईप्रति विदेशी लगानीकर्ताको आकर्षण बढ्दो देखिएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२र८३ मा कुल रु ५८ अर्ब १ करोड ८५ लाख बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ।

विभागका अनुसार स्वचालित अटोमेटिक र स्वीकृत अप्रुभ्ड दुवै प्रक्रियामार्फत १,११६ वटा परियोजना स्वीकृत भएका छन्। अटोमेटिक रुटबाट ८९७ परियोजनामा रु ९ अर्ब ५८ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ भने अप्रुभ्ड रुटमार्फत २१९ परियोजनाका लागि रु ४८ अर्ब ४१ करोड ६६ लाख बराबरको लगानी स्वीकृत भएको छ।

क्षेत्रगत रूपमा हेर्दा कृषिमूलक क्षेत्र वैदेशिक लगानीको पहिलो रोजाइ बनेको छ। १८ वटा परियोजनाका लागि रु २३ अर्ब १८ करोड बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ। त्यसैगरी पर्यटन क्षेत्र दोस्रो आकर्षक क्षेत्र बनेको छ। यस क्षेत्रमा २२७ परियोजनाका लागि रु १३ अर्ब ९९ करोड बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ। ऊर्जा क्षेत्रमा ४ परियोजनाका लागि रु ७ अर्ब १६ करोड तथा उत्पादनमूलक क्षेत्रमा ६३ परियोजनाका लागि रु ३ अर्ब ९१ करोड बराबरको लगानी प्रतिबद्धता आएको छ।

परियोजनाको संख्याका आधारमा भने सूचनाप्रविधि आईटी क्षेत्र सबैभन्दा अगाडि रहेको छ। यस क्षेत्रमा ७२७ वटा परियोजनाका लागि रु २ अर्ब ८३ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?