Butwal Today

रुपन्देहीमा एक वर्षमा २ हजार अपराधका मुद्दा दर्ता

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-
बुटवल । रुपन्देहीमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार ९२९ वटा अपराधका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार सबैभन्दा बढी सङ्गठित तथा आर्थिक अपराधका ६८९, ज्यानसम्बन्धी २४५, आत्महत्याका २२८, सवारीसम्बन्धी १९० र चोरीका १२३ मुद्दा दर्ता भएका छन् ।
प्रहरीका अनुसार चालु मुद्दाका १ हजार ९१७ जना प्रतिवादी पक्राउ परेका छन् । फरार प्रतिवादीमध्ये ५७४ जनालाई पक्राउ गरी ३ करोड ३९ लाख ८४ हजार ७७२ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ३१६ वर्ष ६ महिना १५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको छ ।
वार्षिक अवधिमा १४० वटा लागू औषध मुद्दा दर्ता भई २४७ जना पक्राउ परेका छन् ।
प्रहरीले ६० किलो ४९८ ग्राम गाँजा, २४४ ग्राम ८३१ मिलिग्राम ब्राउन सुगर तथा अन्य लागू औषध बरामद गरेको जनाएको छ । सवारी दुर्घटनातर्फ एक वर्षमा २ हजार १५७ दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको छ भने ३ हजार ४१४ जना घाइते भएका छन् । ट्राफिक कारबाहीबाट ४ करोड ६८ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
अवैध भन्सार चोरी पैठारी नियन्त्रणका क्रममा प्रहरीले २२ करोड ३९ लाख ५७ हजार २१० रुपैयाँ बराबरको सामान बरामद गरेको छ भने २२० जनालाई पक्राउ गरेको छ । त्यसै गरी, ८२४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएकामध्ये ८०१ वटा मिलापत्रबाट टुङ्ग्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वर्षभर सञ्चालन गरेका विभिन्न विशेष अभियानअन्तर्गत अनलाइन सट्टे बाजी, नक्कली नोट कारोबार, लागू औषध तस्करी, हतियार नियन्त्रण र सुन लुटपाटमा संलग्न समूहहरूलाई पक्राउ गरी उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि प्रभावकारी बनाएको जनाएको छ । एक वर्षमा १ हजार ४११ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५३ हजार ७७ जनालाई प्रत्यक्ष रूपमा लाभान्वित गरिएको छ। नागरिक सहायता कक्षमार्फत २४ हजार २ जनाले सेवा लिएका छन् भने ४२ वटा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।
प्रहरीले आगामी वर्ष पनि सङ्गठित अपराध, लागू औषध कारोबार, साइबर अपराध, नक्कली नोट, तस्करी तथा शान्ति–सुरक्षामा चुनौती दिने गतिविधिविरुद्ध थप प्रभावकारी अभियान सञ्चालन गरिने जनाएको छ। आधुनिक अनुसन्धान प्रविधिको प्रयोग, समुदायसँगको सहकार्य र अपराध नियन्त्रणलाई थप सुदृढ बनाउँदै नागरिकमैत्री प्रहरी सेवामा जोड दिइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?