Butwal Today

लुम्बिनी प्रदेश अपडेट: दुर्घटनामा एकको मृत्यु, ७८ सवारी कारबाहीमा, पहिरोले सडक प्रभावित

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल ।

लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा भएका दुई वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसै अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ७८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । कारबाहीबाट ६ लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यस्तै, ट्राफिक प्रहरीले सञ्चालन गरेका विभिन्न सचेतना तथा सेवा कार्यक्रमबाट एक हजार ६ सय ३८ जना लाभान्वित भएका छन् ।

प्रहरीले तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ट्राफिक नियम उल्लंघन तथा असावधानीका कारण अधिकांश दुर्घटना हुने भएकाले चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ । पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशमा सवारी दुर्घटना सडक सुरक्षाको प्रमुख चुनौतीका रूपमा देखिएको प्रहरीको भनाइ छ ।

त्यस्तै, देशका विभिन्न भागमा भइरहेको निरन्तर वर्षा, बाढी र पहिरोका कारण लुम्बिनी प्रदेशका मुख्य सडकहरू पनि प्रभावित भएका छन् ।

अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, गुल्मीस्थित कालीगण्डकी करिडोर र रुद्रवेणी सडकखण्डका तीन स्थानमा पहिरो खसेपछि ती सडकहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास जारी रहे पनि निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण काममा कठिनाइ भइरहेको छ । धेरै सडक एकतर्फी सञ्चालन हुँदा सवारी जाम र थप जोखिम बढ्न सक्ने जनाइएको छ ।

प्रहरी र सडक विभागले यात्रु तथा चालकलाई यात्रा गर्नु अघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?