Butwal Today

विष्णु पौडेलको दाबी : दीपक भट्ट र श्रीराम टोबाको उद्योगबिच मेरो कुनै संलग्नता छैन

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विशेष अदालतमा अभियोगपत्र दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अनुसन्धानका क्रममा असार ८ गते पक्राउ परेका पौडेलले पदको दुरुपयोग गरी व्यवसायी दीपक भट्टलाई श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत शेयर खरिदमा सहजीकरण गरेको निष्कर्ष विभागले निकालेको छ । तर, पौडेलले बयानका क्रममा आफूविरुद्धका सबै आरोप अस्वीकार गरेका छन् ।

उनले श्रीराम टोबाको उद्योगका सञ्चालकलाई दीपक भट्टको कम्पनीलाई शेयर दिन आग्रह गरेको वा भेट गराएको भन्ने आरोप सरासर झुटा भएको बताएका छन् । ‘दीपक भट्ट र श्रीराम टोबाको उद्योगबीचको कुनै पनि सम्बन्धमा मेरो संलग्नता छैन,’ उनले बयानमा उल्लेख गरेका छन् ।

पौडेलले श्रीराम टोबाको उद्योगका सञ्चालकसँग आफ्नो निर्वाचन क्षेत्रका बासिन्दा भएकाले सामान्य चिनजान मात्र रहेको दाबी गरेका छन् । आफूले कुनै पनि अवस्थामा उक्त उद्योगको २० प्रतिशत शेयर दीपक भट्टको कम्पनीलाई दिलाएको भन्ने आरोप तथ्यहीन रहेको उनको भनाइ छ ।

त्यस्तै, अर्थमन्त्री रहँदा पद र प्रभावको दुरुपयोग गरी श्रीराम टोबाको उद्योगको शेयर दीपक भट्टको कम्पनीलाई दिलाएको आरोप पनि उनले अस्वीकार गरेका छन् । कम्पनीबाट प्राप्त लाभांश, शेयर कारोबार वा सम्पत्तिको स्रोत लुकाउने कुनै पनि योजनामा आफ्नो संलग्नता नरहेको उनको दाबी छ ।

सुपारी आयातको विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नै जिम्मेवार निकाय रहेको उल्लेख गर्दै पौडेलले अर्थ मन्त्रालयले कानुनी प्रक्रियाअनुसार मन्त्रिपरिषद्मा प्रस्ताव लैजान सहमति मात्र दिएको बताएका छन् । सुपारी आयातका लागि दिइएको सहमति कुनै पनि कम्पनी वा व्यक्तिलाई लक्षित गरेर नभएको उनको भनाइ छ ।

नेपाल बीमा प्राधिकरण स्वतन्त्र निकाय भएकाले अर्थमन्त्रीले त्यसलाई निर्देशन दिन नमिल्ने उल्लेख गर्दै उनले हिमालयन रिइन्स्योरेन्स, लघु बीमा कम्पनी, ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्जलगायत विषयमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

त्यसैगरी, जनकपुर चुरोट कारखानाको ‘याक’ ब्रान्ड श्रीराम टोबाको उद्योगलाई दिने, राजस्व अनुसन्धान विभागको उजुरीमा सहजीकरण गर्ने, विभिन्न कम्पनीको शेयर व्यवस्थापन मिलाउने तथा दीपक भट्टलाई सम्पत्ति शुद्धीकरणमा सहयोग गरेको आरोप पनि उनले अस्वीकार गरेका छन् ।

श्रीराम टोबाको उद्योगविरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी रहेको जानकारीसमेत आफूलाई नभएको उल्लेख गर्दै पौडेलले आफूले कुनै पनि गैरकानुनी कार्य नगरेको, पदको दुरुपयोग नगरेको र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कसैलाई सहयोग नगरेको दाबी गरेका छन् ।

बयानमा उनले श्रीराम टोबाको उद्योगका केही सञ्चालकलाई आफूले नचिन्ने र केही व्यक्तिसँग निर्वाचन क्षेत्रका कारण सामान्य चिनजान मात्र रहेको उल्लेख गरेका छन् । उनीहरूसँग कुनै व्यक्तिगत लेनदेन, व्यावसायिक साझेदारी वा आर्थिक कारोबार नरहेको पनि उनले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?