© 2026
पश्चिम नवलपरासी ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ र १६ लाई जोड्ने बहुप्रतीक्षित खजुरा पुल निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । २०७९ चैत १२ गते प्रतिनिधिसभा सदस्य विनोद चौधरीले शिलान्यास गरेको पुल अझै निर्माणाधीन अवस्थामै रहेको छ ।
२०७७ साल पुसमा निर्माण कम्पनी श्रीमृत सञ्जीवनी सेवासँग ठेक्का सम्झौता भएको थियो भने २०७९ चैतबाट निर्माण कार्य सुरु गरिएको थियो । ९ करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण हुने पुल बजेट अभावका कारण लामो समयदेखि प्रभावित बनेको हो । ७५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहने पुल ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
हाल पुलका पिलर निर्माण सम्पन्न भएका छन् भने एउटा स्ल्याब ढलान गरिएको छ । बजेट अभाव तथा विभिन्न कारणले पटक–पटक म्याद थपिँदै आए पनि निर्माणले अपेक्षित गति लिन सकेको छैन । पुल समयमै नबन्दा वर्षायाममा स्थानीयवासीले सास्ती भोग्दै आएका छन् भने विद्यार्थीहरू जोखिम मोलेर खोला तर्न बाध्य छन् ।
निर्माण कार्य पटक–पटक अघि बढ्ने र फेरि रोकिने क्रम दोहोरिएकाले पुल अझै समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका स्थानीयमा छ । साथै, पुल निर्माणलाई लिएर विगतदेखि नै जस लिने होडबाजी र राजनीतिकरण हुने गरेको आरोप पनि लाग्दै आएको छ ।
यस विषयमा पुल सेक्टर नेपालगञ्जकी योजना प्रमुख सबिना रानाभाटले फागुन मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताइन् । उनका अनुसार पुलका लागि थप ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । “अहिले पुलका लागि थप ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । सायद दुई–तीन करोडभन्दा बढी खर्च नलाग्ला । भदौपछि काम सुरु गरेर फागुन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” रानाभाटले भनिन् ।
उनले विगतमा न्यून बजेट विनियोजन र ढिलासुस्तीका कारण काम प्रभावित भए पनि अब पर्याप्त बजेट उपलब्ध भएकाले तोकिएको समयमै पुल निर्माण सम्पन्न हुने दाबी गरिन् ।
पुल निर्माण सम्पन्न नहुँदा हाल ह्युम पाइप राखेर वैकल्पिक आवतजावतको व्यवस्था गरिएको छ । तर वर्षायाममा बाढीले ती ह्युम पाइप बगाउने गरेकाले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् ।