Butwal Today

रविलाई धरौटीमा छाड्ने न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्षमा सिफारिस

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं। न्याय परिषद्ले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा धरौटीमा रिहा गर्ने आदेश दिएका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्षमा नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको न्याय परिषद्को बैठकले आचार्यको नाम सिफारिस गर्ने निर्णय गरेको हो। अब उनको नियुक्तिबारे अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। न्यायाधीश आचार्य उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहँदा न्यायाधीश तेजनारायण पौडेलसँगको संयुक्त इजलासले २०८२ पुस ३ गते सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी तथा धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

आचार्य २०८१ भदौमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा भएका थिए भने गत जेठ ४ गतेदेखि सर्वोच्च अदालतमा काजमा कार्यरत छन्। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट उच्च अदालत सुर्खेतमा सरुवा भएपछि आचार्यलाई विशेष अदालतको नेतृत्वमा ल्याउने प्रक्रिया अघि बढाइएको हो। अर्घाखाँचीका स्थायी बासिन्दा आचार्य २०७३ सालमा उच्च अदालतका न्यायाधीश नियुक्त भएका थिए। न्यायाधीश बन्नुअघि उनी कानुन व्यवसायमा सक्रिय थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?