© 2026
काठमाडौं । नेपालमा वामपन्थी आन्दोलनको भविष्य, वैचारिक संकट र पुनरुत्थानको सम्भावनाबारे बहस फेरि चर्किएको छ। लामो समयसम्म सत्ताको केन्द्रमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र हालको नेपाली कम्युष्टि पाटिले अपेक्षित समाजवादी रूपान्तरण गर्न नसकेको तथा सत्ता, भ्रष्टाचार र अवसरवादतर्फ केन्द्रित हुँदा जनविश्वास गुमाएको विश्लेषण सार्वजनिक भएको छ।
विश्लेषणमा २०६४ सालपछि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको राजनीतिक वर्चस्व कायम रहे पनि समाजवाद उन्मुख नीति, रोजगारी सिर्जना, औद्योगिकीकरण, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा–स्वास्थ्य तथा आर्थिक समानताको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिएको छ।
वामपन्थी दलहरू क्रमशः सिद्धान्तभन्दा सत्ता, विचारभन्दा चुनाव र परिवर्तनभन्दा अवसरवादतर्फ उन्मुख भएको दाबी गर्दै त्यसकै परिणामस्वरूप पछिल्ला निर्वाचनहरूमा वाम दलहरूको लोकप्रिय मत उल्लेखनीय रूपमा घटेको विश्लेषण गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वाम एकताको आवश्यकता महसुस गरे पनि विचार, नीति र नयाँ कार्यक्रमबिना केवल संगठनात्मक एकताले मात्रै वामपन्थ पुनर्जीवित हुन नसक्ने अबस्था छ।
अबको वामपन्थ समावेशी, पारदर्शी, जनमुखी, रोजगारीमुखी, सुशासनमा आधारित र नयाँ पुस्ताले नेतृत्व गर्ने दिशामा अघि बढे मात्र पुनरुत्थान सम्भव हुने निष्कर्ष प्रस्तुत गरिएको छ। साथै भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय, सार्वजनिक शिक्षा–स्वास्थ्यको सुदृढीकरण, उत्पादनमुखी अर्थतन्त्र र वैचारिक स्पष्टतासहितको नयाँ नेतृत्व वामपन्थको पुनर्जागरणका प्रमुख आधार बन्न सक्ने छ।