काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ ।
यसको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । हाल कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, देशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा मधेस प्रदेशका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
यस्तै, कोसी प्रदेशको पहाडी भूभाग तथा कोसी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।