© 2026
काठमाडौँ । नेपाली काँग्रेसले सातै प्रदेशमा नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने दिशामा आन्तरिक छलफललाई तीव्र बनाएको स्रोतले जनाएको छ । पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत बढेको बताइएको छ ।
स्रोतका अनुसार काँग्रेस नेतृत्व एमालेसँगको सत्ता सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेको छ । गत वर्षको ‘जेन–जी’ आन्दोलनप्रतिको दृष्टिकोणमा देखिएको मतभेद तथा प्रदेश सरकारहरूमा एमालेको कार्यशैलीप्रति असन्तुष्टि यसका प्रमुख कारण रहेको काँग्रेसका एक नेताले बताएका छन् ।
स्रोतका अनुसार काँग्रेसले सातै प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिने बताइएको छ ।
दुवै दलबिच सहमति भए काँग्रेस र माओवादी केन्द्र मिलेर प्रदेश सरकारमा सहभागी हुने, सहमति नभए केन्द्रमा जस्तै प्रदेशमा पनि प्रतिपक्षमा बस्ने रणनीति बनाइएको स्रोतको दाबी छ ।
यसै विषयमा मंगलबार काँग्रेसका सभापति गगन थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच छलफल भएको स्रोतले जनाएको छ । छलफलमा केन्द्रमा सम्भावित नयाँ सत्ता समीकरण, प्रदेश सरकारहरूको भविष्य तथा सत्ता साझेदारीबारे कुराकानी भएको बताइएको छ ।
यद्यपि, एमालेसँगको सहकार्य अन्त्य गर्ने वा नयाँ सत्ता समीकरण बनाउने विषयमा काँग्रेसले हालसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन । दुवै दलका शीर्ष नेताबीच यस विषयमा संवाद भने निरन्तर जारी रहेको स्रोतको दाबी छ ।
यसअघि काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको ‘उकुसमुकुसपूर्ण सहकार्य’ बाट पार्टी मुक्त हुन चाहेको अभिव्यक्ति दिएका थिए ।