© 2026
बुटवल । पश्चिम नेपालकै प्रमुख जीवन रेखा मानिने सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान बजारदेखि चिडिया खोलासम्मको करिब चार किलोमिटर सडक खण्ड अहिले यात्रु र चालकका लागि सबैभन्दा जोखिमपूर्ण बनेको छ ।
हिउँदमा अत्यधिक धुलो र वर्षा याममा हिलाम्मे सडकका कारण यस खण्डबाट यात्रा गर्ने हजारौँ यात्रुले दैनिक सास्ती खेप्न बाध्य भएका छन् ।
विशेष गरी सिद्ध बाबा सुरुङ मार्ग निर्माण सुरु भएपछि यो सडकको नियमित मर्मत हुन नसक्दा अवस्था झन् जर्जर बनेको हो ।
सामान्य वर्षा हुँदा पनि सडक हिलाम्मे हुने, सवारी चिप्लिने र माथिबाट पहिरो तथा ढुङ्गा खस्ने जोखिमका कारण यात्रु र चालक त्रसित अवस्थामा यात्रा गर्न बाध्य छन् ।
गुल्मीबाट मोटरसाइकलमा बुटवलतर्फ जाँदै गरेका खिमलाल पन्थले यस वर्ष अघिल्ला वर्षभन्दा सडकको अवस्था झनै बिग्रिएको बताए । “यसपालि त झन् धेरै हिलाम्मे भएको छ,” उनले भने, “सानो सवारी चलाउन निकै कठिन छ। सामान्य पानी पर्दा पनि मोटरसाइकल चिप्लिन्छ । माथिबाट ढुङ्गा खस्ने डर छुट्टै छ ।”
पाल्पाको निस्दी गाउँपालिका–७ का मोटरसाइकल चालक गमबहादुर सारुका अनुसार वर्षा याममा दोभानदेखि बुटवल पुग्दासम्म सबैभन्दा जोखिमपूर्ण यात्रा यही खण्डमा हुन्छ । “पानी नपर्दा धुलोले केही देखिँदैन, पानी परेपछि सडक हिलाम्मे भएर झन् जोखिम बढ्छ,” उनले भने, “रेनकोट लगाएर हिँड्दा पनि सुरक्षित महसुस हुँदैन । विशेष गरी हेडबक्सदेखि माथिल्लो सिद्धबाबासम्मको अवस्था निकै भयावह छ ।”
स्थानीयका अनुसार वर्षौंदेखि दोभान–चिडियाखोला सडक समस्या रहँदै आएको भए पनि सुरुङ मार्ग निर्माण सुरु भएपछि सडकको मर्मतसम्भार लगभग रोकिएको छ । विगतमा आरसीसी र कालोपत्र गरिएको सडक अहिले अधिकांश स्थानमा भत्किसकेको छ । कतिपय स्थानमा गरिएको मर्मतसमेत केही महिनामै उप्किएको छ । पहाडबाट खस्ने ढुङ्गा र पहिरोका कारण सडक थप बिग्रँदै गएको स्थानीयको भनाइ छ ।
चार वर्षअघिसम्म सडक डिभिजन कार्यालयले यही सडक खण्डको नियमित मर्मतका लागि वार्षिक दुई करोड रूपैयाँभन्दा बढी खर्च गर्दै आएको थियो । तर सुरुङ मार्ग आयोजनाले काम सुरु गरेपछि सडक डिभिजनले मर्मतको जिम्मेवारी छाडेको र निर्माण कम्पनीले पनि प्रभावकारी रूपमा सडक सुधार नगर्दा यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन् ।
सिद्ध बाबा सुरुङ मार्ग आयोजनाका प्रमुख नवराज बास्तोलाले निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई तत्काल सडक सुधार गर्न पटक–पटक निर्देशन दिइएको बताए । उनका अनुसार गिट्टी र बालुवा हालेर भए पनि सडक सञ्चालनयोग्य बनाउन कम्पनीलाई आग्रह गरिएको छ ।
“यस विषयमा निर्माण कम्पनीसँग धेरै पटक छलफल गरिसकेका छौं,” उनले भने, “अब स्थानीय पालिका र खानी उद्योगसँग समन्वय गरेर सडक सुधारको काम अघि बढाउने सहमति भएको छ ।”
उनका अनुसार स्थानीय तहलाई रोयल्टी तिर्ने विषयमा निर्माण कम्पनी र पालिकाबिच केही समय विवाद रहेकाले आवश्यक निर्माण सामग्री व्यवस्थापनमा ढिलाइ भएको थियो । अहिले सो विषयमा सहमति भइसकेकाले खानी उद्योगबाट गिट्टी ल्याएर तत्काल सडक मर्मत सुरु गर्ने तयारी गरिएको छ ।
दुई साताअघि जिल्ला प्रशासन कार्यालय पाल्पाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा पनि स्थानीय बासिन्दा, यातायात व्यवसायी तथा यात्रुले यही सडकको धुलो र हिलाम्मे अवस्थाबारे गम्भीर गुनासो गरेका थिए । त्यस क्रममा प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेयले तत्काल समस्या समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा समेत दोभानदेखि चिडिया खोलासम्मको सडकलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा छलफल गरिएको थियो ।