Butwal Today

सर्वोच्चमा जलेका २० हजारमध्ये १८ हजार मिसिल पुनर्जीवित

३१ असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी हुँदा नष्ट भएका करिब २० हजार मिसिलमध्ये १८ हजार मिसिल पुनः प्राप्त भई प्रमाणीकरण गरिएको छ। ती मिसिलमा अहिले नियमित सुनुवाइ र फैसला प्रक्रिया अघि बढिरहेको सर्वोच्च अदालतले जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बाँकी करिब २ हजार मिसिल पनि एक महिनाभित्र प्राप्त हुने अपेक्षा गरिएको छ। प्राप्त भएका मिसिल प्रमाणीकरणपछि मुद्दाको पेसी चढाएर सुनुवाइ अघि बढाइएको उनले बताए। आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका २३ अदालतमा आगजनी र तोडफोड हुँदा करिब ९ लाख ३३ हजार ८२३ थान मिसिल पूर्ण रूपमा नष्ट भएका थिए। सर्वोच्च अदालतमा मात्रै चालु मिसिलमध्ये करिब ८३ प्रतिशत जलेका थिए।

मिसिल पुनः प्राप्त गर्न सर्वोच्चले ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ जारी गर्दै विशेष अभियान सञ्चालन गरेको थियो। त्यसअनुसार कानुन व्यवसायी, सरकारी वकिल, मुद्दाका पक्ष तथा विभिन्न सरकारी निकायबाट प्रतिलिपि र अभिलेख संकलन गरिएको थियो। सर्वोच्चले अन्य अदालत तथा सरकारी निकायका अभिलेख, वेबसाइटमा रहेका फैसला, न्यायाधीश र कर्मचारीसँग रहेका कागजात तथा विद्युतीय माध्यमबाट आदानप्रदान भएका दस्तावेजसमेत संकलन गरी मिसिल पुनर्निर्माण गरेको जनाएको छ।

संकलित मिसिललाई पक्ष, मुद्दाको प्रकृति, कारबाहीको चरण, क्षेत्राधिकार र इजलासका आधारमा वर्गीकरण गरी प्रमाणीकरण गरिएको छ। पुनः प्राप्त भएका मिसिल सर्वोच्च अदालतको वेबसाइटमा अपलोड गरिने र सम्बन्धित निकायलाई समेत उपलब्ध गराइने व्यवस्था गरिएको अदालतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?