© 2026
काठमाडौं।अविरल वर्षा र पहिरोका कारण देशभरका चार प्रमुख राजमार्ग प्रभावित भएका छन्। विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीका अनुसार मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा पहिरो खस्दा झापादेखि ताप्लेजुङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ र ४ मा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
यस्तै, सालझण्डी–ढोरपाटन सडकखण्ड अन्तर्गत अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा पनि पहिरोका कारण सवारी आवागमन ठप्प भएको प्रहरीले जनाएको छ। यसैबीच, नेपाल प्रहरीले बुधबार साँझ जारी गरेको सूचनाअनुसार बीपी राजमार्ग र कान्ति लोकपथ मा सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्म यातायात सञ्चालन रोकिएको छ।
