© 2026
काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ। यससँगै प्रदेश तहमा कायम रहेको कांग्रेस–एमाले गठबन्धन औपचारिक रूपमा टुट्ने अवस्थामा पुगेको छ।
कांग्रेस स्रोतका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक विवाद चर्किएपछि अन्य प्रदेशमा पनि एमालेसँगको सहकार्य निरन्तर राख्न नसकिने निष्कर्षमा पार्टी पुगेको हो। यद्यपि, यसबारे कांग्रेसले औपचारिक घोषणा भने गरिसकेको छैन। प्रदेशका मुख्यमन्त्री र प्रदेश सभापतिहरूलाई भने निर्णयबारे जानकारी गराइसकिएको बताइएको छ।
कर्णालीमा एमालेका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले राजीनामा दिइसकेका छन्। सुदूरपश्चिममा कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई सरकारबाट बर्खास्त गरिसकेका छन्।
यसैबीच, लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिने तयारीमा छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउने तयारी गरेका छन् भने कोशी प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने निर्णय भएको स्रोतले जनाएको छ। मधेश प्रदेश सरकारको नेतृत्व भने कांग्रेसकै हातमा रहनेछ।
कांग्रेसका एक पदाधिकारीका अनुसार, “एमालेले कर्णाली र सुदूरपश्चिममा अपनाएको नीतिपछि कुनै पनि प्रदेशमा सँगै अघि बढ्ने अवस्था रहेन, त्यसैले गठबन्धन अन्त्य गर्ने निर्णय गरिएको हो।” उता, कांग्रेसको निर्णयपछि एमालेले थप राजनीतिक संवाद गर्ने संकेत दिएको छ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले प्रदेश सरकारमा विकसित परिस्थितिबारे कांग्रेससँग थप छलफल आवश्यक रहेको बताएका छन्।
गत साता कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकारमा देखिएको विवादबारे छलफल भएको थियो। कांग्रेसको पछिल्लो निर्णयसँगै प्रदेश राजनीतिमा नयाँ शक्ति समीकरण बन्ने संकेत देखिएको छ।