© 2026
काठमाडौं । न्यायको माग गर्दै काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच बाराको निजगढमा मंगलबार राति तेस्रो चरणको वार्ता सुरु भएको छ। यसअघि निजगढ उद्योग वाणिज्य संघको भवनमा झण्डै पाँच घण्टा चलेको वार्ता लिखित सहमति नभएपछि निष्कर्षविहीन बनेको थियो। त्यसपछि गृहमन्त्री गुरुङ सिमराबाट पुनः निजगढ पुगेर वार्तामा सहभागी भएका हुन्।
मिटरब्याज पीडितहरूको आन्दोलनपछि प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गठित गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। तर आन्दोलनरत पक्षले सरकारको मौखिक प्रतिबद्धतामात्र पर्याप्त नभएको भन्दै आफ्ना ६ बुँदे मागमा बुँदागत र लिखित सहमति हुनुपर्ने अडान राखेको छ।
संयुक्त जनअधिकार मोर्चा नेपालका संयोजक निर्ग नवीनका अनुसार फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन र विगतका सम्झौता कार्यान्वयनसहितका मागमा स्पष्ट लिखित सहमति भएपछि मात्रै आन्दोलनका आगामी कार्यक्रमबारे निर्णय गरिनेछ।