© 2026
काठमाडौँ । मलेसियामा कार्यरत नेपाली श्रमिकले अब आफ्नो राहदानी पासपोर्ट आफैँसँग राख्न पाउने भएका छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासले सूचना जारी गर्दै मलेसियामा रहेका सबै नेपाली नागरिकलाई आफ्नो राहदानी सधैँ आफैँसँग राख्न आग्रह गरेको हो।
दूतावासका अनुसार मलेसियाको प्रचलित कानुनअनुसार विशेष अवस्था र श्रमिकको स्पष्ट सहमति बाहेक रोजगारदाताले श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा राख्न पाउँदैनन्। यस्तो कार्य गैरकानुनी हुने दूतावासले स्पष्ट पारेको छ। दूतावासले रोजगारदातालाई नेपाली श्रमिकको राहदानी उनीहरूकै साथमा रहने व्यवस्था मिलाउन तथा त्यसको सुनिश्चितता गर्न अनुरोध गरेको छ।
यदि कुनै रोजगारदाता वा अन्य व्यक्तिले श्रमिकको सहमति बिना राहदानी आफ्नो नियन्त्रणमा राखेमा तत्काल नेपाली दूतावासलाई जानकारी गराउन पनि आग्रह गरिएको छ। दूतावासका अनुसार यो व्यवस्था नेपाली श्रमिकको अधिकार संरक्षण, कानुनी सुरक्षा तथा मलेसियामा उनीहरूको सहज आवतजावत सुनिश्चित गर्ने उद्देश्यले लागू गरिएको हो