Butwal Today

तस्करी आरोपमा दुई डीएसपीसहित आठ सुरक्षाकर्मी मुख्यालय तानिए

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफ भित्र तस्करीसँग सम्बन्धित आरोपबारे अनुसन्धान तीव्र बनाइएको छ। एक सई सहायक निरीक्षकको बयानपछि दुई जना डीएसपीसहित आठ जना सुरक्षाकर्मीलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक बोलाएर छानबिन सुरु गरिएको छ।

छानबिनका लागि मुख्यालय तानिनेहरूमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत भई हाल इलाममा रहेका डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर ९सुनसरी०का डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्। यसअघि नै नं.३८ रिजर्भ गणका हवल्दार हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय अस्पताल सुनसरीका सई गणेश खड्का तथा नं. ४ गण सुनसरीका जवान पारस यादवलाई पनि अनुसन्धानका लागि मुख्यालय बोलाइएको थियो।

स्रोतका अनुसार सई गणेश खड्का र अन्य सुरक्षाकर्मीले बयानका क्रममा तस्करीबाट संकलन भएको रकम मासिक रूपमा इन्स्पेक्टर र डीएसपी तहसम्म पुग्ने गरेको दाबी गरेका छन्। यही बयानका आधारमा अनुसन्धानको दायरा थप विस्तार गरिएको बताइएको छ।यता सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले केही सुरक्षाकर्मीलाई अनुसन्धानका लागि मुख्यालय बोलाइएको पुष्टि गरेका छन्।

तर अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सम्बन्धित व्यक्तिहरूको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन्। सशस्त्र प्रहरी मुख्यालयले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?