© 2026
काठमाडौं । सिंहदरबारमा करार सेवामा कार्यरत कर्मचारीहरूले जागिरको सुनिश्चितता र सेवा सुविधाको माग गर्दै मंगलबार अर्थ मन्त्रालय घेराउ गरेका छन्। सरकारको नीतिका कारण आफ्नो रोजगारी जोखिममा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी कर्मचारीहरूले करार सेवामा कार्यरत कर्मचारीको सेवा सुरक्षित गर्न, रोजगारीको निरन्तरता सुनिश्चित गर्न तथा सेवा–सुविधाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा कर्मचारीहरूको एक टोलीले अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायसँग भेट गरी आफ्ना मागबारे छलफल गर्ने तयारी गरेको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिएका छन्। करार कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।