© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाभित्र दर्ताविहीन ई–रिक्साको सञ्चालन बढ्दै गएको भन्दै दर्ता भएका ई–रिक्सा व्यवसायी सोमबार आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले दर्ता भएका सवारीलाई मात्र सञ्चालनको अनुमति दिन, कर प्रणालीलाई व्यवस्थित बनाउन र अवैध रूपमा सञ्चालन भइरहेका ई–रिक्सामाथि तत्काल नियन्त्रण गर्न माग गरेका छन् । व्यवसायीहरूले योगिकुटी देखि बुटवल उपमहानगरपालिका कार्यालयस्थित हाटबजारसम्म ¥याली निकालेका थिए ।
विभिन्न नारासहितको ¥यालीपछि उपमहानगरपालिका कार्यालय परिसरमा पुगेर उनीहरूले केही समय धर्नासमेत दिएका थिए । आन्दोलनमा सहभागी व्यवसायीका अनुसार बुटवल उपमहानगरपालिकामा हाल करिब १ हजार ४४० वटा ई–रिक्सा दर्ता छन् । तर, दर्ता नभएका ठुलो सङ्ख्यामा ई–रिक्सा सञ्चालनमा रहेकाले आफूहरू आर्थिक रूपमा मारमा परेको उनीहरूको गुनासो छ ।
व्यवसायीहरूले आफूहरू कानुनी प्रक्रियाअनुसार दर्ता भई सञ्चालनमा रहे पनि उपमहानगरपालिकाले नियमित रूपमा कर सङ्कलन नगरेको र दर्ताविहीन सवारीलाई समेत निर्बाध रूपमा सञ्चालन गर्न दिएको आरोप लगाए । यसले दर्ता भएका व्यवसायी अन्यायमा परेको उनीहरूको भनाइ छ ।
उनीहरूले एउटै बजार क्षेत्रमा दर्ताविहीन ई–रिक्साको सङ्ख्या बढ्दै जाँदा यात्रु विभाजन हुने, आम्दानी घट्ने र व्यवसाय सञ्चालन गर्न कठिन बन्दै गएको बताए । सम्बन्धित निकायले अनुगमन प्रभावकारी बनाउन नसक्दा अव्यवस्थित रूपमा ई–रिक्सा सञ्चालन भइरहेको उनीहरूको आरोप छ ।
आन्दोलनकारीहरूले उपमहानगरपालिका समक्ष दर्ताविहीन ई–रिक्साको तत्काल पहिचान गरी सञ्चालन रोक्न, सबै ई–रिक्सालाई अनिवार्य रूपमा दर्ता प्रक्रियामा ल्याउन, कर प्रणाली पारदर्शी बनाउन तथा व्यवसायीमैत्री यातायात व्यवस्थापन नीति लागू गर्न माग गरेका छन् ।
उनीहरूले आफ्ना मागप्रति उपमहानगरपालिकाले चासो नदिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन् ।
यता, बुटवल उपमहानगरपालिकाले व्यवसायीका मागबारे छलफल गरी आवश्यक निर्णय लिने जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार ई–रिक्सा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक अध्ययन र समन्वयको प्रक्रिया अघि बढाइनेछ ।