© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सुरक्षाघेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतंक बढ्दै गएको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले सरकारमाथि प्रश्न गर्न नदिने प्रवृत्ति बढ्दै गएको र लोकतन्त्रलाई संस्थागत हुन नदिने गरी एकपछि अर्को घटना भइरहेकाले मुलुकमा आतंकको अवस्था सिर्जना भएको बताए ।
‘सरकार निरंकुश बन्दै गएको छ । सत्ताउन्मादले हुनुपर्छ,’ उनले भने, ‘सत्तापक्षका सांसदहरूको मुखमा टेप लागेको छ ।’
मुगुका गणेश नेपालीले रोजेको बाटोबारे चौतर्फी प्रश्न उठिरहेका बेला सरकारसँग जवाफ माग्दा ‘प्रश्न सोध्ने तँ को होस् ?’ भन्ने शैलीमा सरकारी व्यवहार देखिएको आरोप उनले लगाए ।
राईले सरकारको कार्यशैलीलाई हिरण्यकश्यपसँग तुलना गर्दै सरकारमाथि प्रश्न गर्न नछाड्ने बताए ।
उनले सुरक्षाघेराभित्र रहेका एक व्यक्तिले सुकुम्बासी होल्डिङ सेन्टरमा बसेका नागरिकलाई धम्क्याउने काम गरिरहेको आरोपसमेत लगाए । होल्डिङ सेन्टर, गणेश नेपालीको घटना तथा गाडी तेर्स्याउने प्रकरणबारे सरकार र सम्बन्धित मन्त्रीले संसद्मा स्पष्ट जवाफ दिनुपर्नेमा अन्य व्यक्तिमाथि दोष थोपरेर पन्छिन खोजिएको उनको भनाइ थियो ।
राईले प्रधानमन्त्री बालेन शाहलाई ‘श्री ८’ सँग समेत तुलना गरेका थिए ।