Butwal Today

पाकिस्तानमा भारी वर्षाका कारण ९ जनाको मृत्यु, १४ घाइते

३० असार २०८३, मंगलवार
अ+
अ-

इस्लामावाद ।

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार भएको भारी वर्षाका कारण आवासीय घर भत्किँदा कम्तीमा ९ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको उद्धार अधिकारीहरूले बताएका छन् ।

उद्धार अधिकारीहरुका अनुसार भारी वर्षाका कारण जिल्लाको लाची क्षेत्रको मालगिन क्षेत्रमा बाढी आई एउटा घर क्षेति ग्रस्त हुँदा २३ जना उक्त घरको भग्नावशेष मुनि फसेका छन् ।

कोहाट र काराक जिल्लाका उद्धार टोलीहरूले उद्धार अभियान अन्तरगत सबै पीडितहरूलाई भग्नावशेषबाट सफलतापूर्वक उद्धार गरेर उपचारका लागि नजिकैको अस्पतालमा लगेको जनाइएको छ ।

मृत्यु हुनेहरुमा छ जना महिला र तीन जना बालबालिका रहेको उल्लेख गर्दै घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने डर रहेको अधिकारीले बताएका छन् ।

पाकिस्तानका धेरै भागहरूमा आएको मनसुनी वर्षाले निरन्तर बाढी निम्त्याउदा पूर्वाधारलाई क्षति पुग्नुका साथै दैनिक जीवन यापनमासमेत बाधा पुगेको जनाइएको छ ।

यस अघि प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले बढ्दो पानीको बहावका कारण आगामी दुई दिनमा बाँधबाट थप पानी छोड्न सक्ने चेतावनी दिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?